प्रेस काउन्सिल नेपालले कालोसूचीमा राखी कारबाही गरेका चारवटा सञ्चारमाध्यमको कारबाही फुकुवा गरेको छ। दर्ता र सूचीकरण नभई चलेका ५४ युट्युब च्यानल र पाँचवटा फेसबुक पेजलाई थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाएको छ। काउन्सिलले आइतबार विज्ञप्ति जारी गर्दै टिभीअन्नपूर्ण डटकम, योहो टेलिभिजन, त्रिनेत्र पोस्ट साप्ताहिक, खोजतलास अनलाइन डटकमको अवज्ञाकारी/कालोसूचीको कारबाही फुकुवा गरिएको जनाएको हो।
काउन्सिलका सूचना अधिकारी सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिअनुसार चालू आर्थिक वर्षको साउनयता कालोसूचीमा परेका १० वटामध्ये चारवटा सञ्चारमाध्यमले क्षमायाचना गर्दै आगामी दिन आचारसंहिता एवं काउन्सिलको निर्देशन पालनामा प्रतिबद्धता जनाएपछि कालोसूची फुकुवा भएको हो ।
काउन्सिलको निर्देशन अवज्ञा गर्ने अन्य ६ वटा सञ्चारमाध्यम एबिपिक्राइमन्युज डटकम, सेतोखरी डटकम, कोशीपोस्ट डटकम, हेर्दाहेर्दै डटकम, दियोपोस्ट डटकम र नेपालकथा डटकमलाई कालोसूचीमा राखी थप कारबाही अगाडि बढाएको काउन्सिलले जनाएको छ । यीमध्ये एबिपिक्राइमन्युज डटकम, दियोपोस्ट डटकम र हेर्दाहेर्दै डटकमलाई भने सूचीकरणबाटै हटाइएको छ ।
पत्रकार आचारसंहिताको पटक-पटक र श्रृंखलाबद्ध उल्लंघन गरेका सञ्चारमाध्यमलाई काउन्सिलले कारबाहीस्वरूप कालोसूचीमा राख्ने, सूचीकरणबाट हटाई विज्ञापन र अन्य सुविधा रोक्न सम्बन्धित निकायमा सिफारिस गर्न सक्ने व्यवस्था छ।
पत्रकार आचारसंहिताको दायरामा बस्ने, गल्ती सच्याउन तयार भई सन्तुलित समाचार प्रवाह गर्ने प्रतिबद्धता सम्बन्धित सञ्चारमाध्यमबाट आएपछि काउन्सिलले आफूले गरेको कारबाही फुकुवासमेत गर्दै आएको छ ।
प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले गल्ती सच्याउने तत्परता राख्नु सञ्चारमाध्यमको धर्म रहेको बताए । ‘काउन्सिलले कारबाही मात्र गर्ने होइन, गल्ती महसुस गर्दै सही र तथ्यपूर्ण समाचार सामग्री दिने प्रतिबद्धता जनाउने सञ्चारमाध्यमलाई कारबाही फुकुवासमेत गर्छ, गर्दै आएको छ,’ अध्यक्ष बस्नेतले भने ।
काउन्सिलमा पछिल्लो समयमा उजुरी दर्ता हुने क्रम बढेका छन् । काउन्सिलमा चालू आर्थिक वर्षको १५ माघसम्म २४७ मिडियाविरुद्ध १५६ वटा उजुरी र एउटा जनगुनासो दर्ता भएका छन्। तीमध्ये ५६ वटा गालीबेइज्जती-चरित्रहत्या-मानहानी, ८७ वटा गलत-भ्रामक-असन्तुलित-दुष्प्रचार, चारवटा बार्गेनिङ, नौवटा हुबहु रहेको विज्ञप्तिमा उल्लेख छ।