संखुवासभा अस्पतालका डाक्टरहरू आन्दोलित भएका छन् । आइतबार जिल्ला अस्पताल संखुवासभामा कार्यरत डाक्टरहरूले एक घण्टा ओपिडी सेवा बन्द गरेर केन्द्रीय सर्कुलरअनुसार आन्दोलन गरेका हुन् ।
जिल्ला अस्पताल संखुवासभाका डाक्टर विकास आचार्यको नेतृत्वमा उनीहरू आन्दोलित भएका हुन् । उनीहरूले जिल्ला अस्पताल खाँदबारीमा आइतबार ११ देखि १२ बजेसम्म ओपिडीलगायतका सेवा बन्द गरेका थिए । डाक्टर आचार्यका अनुसार सेवाग्राहीलाई मार नपर्ने गरी केन्द्रीय सर्कुलरलाई कार्यान्वयन गर्दै एक घण्टा मात्रै आन्दोलन गरिएको थियो । ‘१४ माघमा स्वास्थ्यमन्त्री र शिक्षामन्त्रीबिच भएको तीनबुँदे निर्णय फिर्ता गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगको एमडी/एमएस परीक्षा स्थगित गर्नुपर्ने, डाक्टरहरूलाई बन्धक बनाउन नपाइनेलगायत माग गर्दै केन्द्रमा आन्दोलन चलिरहेको छ । सोही आन्दोलनलाई साथ दिन आन्दोलनमा उत्रिएको डाक्टर आचार्यले बताए ।
अस्पतालहरूले आवासीय डाक्टरको चरम श्रम शोषण गर्ने गरेका, पारिश्रामिक कम र डिउटी समय बढीलगायतका माग सरकारले सम्बोधन गर्नुपर्ने जिल्ला अस्पताल संखुवासभाका डाक्टर आचार्यले बताए । उनले निजी तथा सरकारी अस्पतालमा कार्यरत डाक्टरहरूलाई राज्यले न्याय दिनुपर्ने बताए ।
निजी तथा सरकारी मेडिकल कलेजहरूले आवासीय चिकित्सकलाई चरम श्रम शोषण गरिरहेको उनीहरूको भनाइ छ । १२० घन्टासम्मको डिउटी राख्ने, पारिश्रमिक १८ हजार मात्रै दिने, विश्वव्यापी मान्यताअनुसार तालिम निःशुल्क, लाइसेन्स प्रााप्त चिकित्सकका रूपमा २-३ जना मेडिकल अफिसरभन्दा पनि आवासीय चिकित्सकले बढी र गुणस्तरीय काम गर्दै आएको डाक्टरहरूको भनाइ छ ।