सहिद स्मारक ए, बी, सी डिभिजन क्लब तथा विभिन्न मोफसल प्रतियोगिताका विजेता क्लबहरूलाई ललितपुर महानगरपालिकाले शनिबार एक विशेष समारोहबिच नगदसहित सम्मान गरेको छ।
महानगरपालिकाले ए डिभिजनका पाँच क्लबहरू थ्री स्टार, फ्रेन्डस्, जावलाखेल युथ, चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथ क्लबलाई रु. ४/ ४ लाख प्रदान गरेको हो। बी डिभिजनका तीन क्लबहरू च्यासल युथ क्लब, खुमलटार एफसी र ब्रिगेड ब्वाइज युनाइटेडलाई रु. ३/३ लाख तथा सी डिभिजनका खालीबारी युथ क्लब, पुलचोक स्पोर्टस् क्लब, झम्सिखेल युथ क्लबलाई रु. २/२ लाख नगदले सम्मान गरेको छ।
त्यस्तै, विभिन्न मोफसल प्रतियोगिता जित्ने चर्च ब्वाइज युनाइटेड र ब्रिगेड ब्वाइज युनाइटेडलाई प्रत्येक प्रतियोगिता जितेबापत ४ लाखका दरले सम्मान गरिएको छ। जसमा पाँच नकआउट प्रतियोगिता जितेको चर्च ब्वाइजले रु. २० लाख र दुई प्रतियोगिता जितेको ब्रिगेड ब्वाइजले रु. ८ लाख पुरस्कार पाए।
समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईलगायतले क्लबहरूलाई चेक हस्तान्तरण गरेका थिए।