श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरतसिंह भण्डारीले नेपाल–साउदी अरबबिच चाँडै श्रम सम्झौता हुने बताएका छन् ।
साउदी अरबसँग श्रम सम्झौताको छलफल जारी रहेको भन्दै मन्त्री भण्डारीले भने, ‘साउदी अरबको श्रममन्त्रीसँग द्विपक्षीय वार्ता भयो । हामीले आफ्नो कुरा राख्यौँ । उहाँहरूले पनि आफ्नो कुरा राख्नुभयाे ।’
श्रम सम्झौताको विषयमा जेनरल र टेक्निकल कुरा भएको भन्दै मन्त्री भण्डारीले साउदी अरबसँग चाँडै श्रम सम्झौता हुने विश्वास बढेको बताए ।
श्रम सम्झौता गर्न श्रम मन्त्रलायले आवश्यक प्रक्रियाहरू पनि पूरा गरेको र बृहत् रूपमा परामर्श पनि गरिरहेको उनले बताए । मन्त्री भण्डारीले नेपाली श्रमिकहरू मृत्युको जालमा फसेको बताएका छन् । खाडी र मलेसियाका देशमा नेपाली श्रमिकहरू मृत्युको जालमा परेको भन्दै मन्त्री भण्डारीले यस विषयमा अध्ययन भइरहेको बताएका छन् ।
आखिर किन नेपाली श्रमिकहरू यसरी डेथ ट्रयापमा परेको भन्दै उनले भने, ‘१६ वर्षमा १४ हजार श्रमिकको मृत्यु भएको छ । आखिर किन यस्तो भइरहेको छ । यसको अध्ययन–अनुसन्धान भइरहेको छ ।’
विश्व लेबर मार्केट सम्मेलनको दोस्रो संस्करणमा सहभागी भएका मन्त्री भण्डारीले श्रमिक बजारको आवश्यकता, एआईको प्रयोग, दक्ष जनशक्तिको मागबारे छलफल भएको बताएका छन् ।
नेपाली श्रमिकहरूको ठुलो गन्त्वय साउदी अरब भएको र साउदी अरबले नै सम्मेलन आयोजना गरेको भन्दै मन्त्री भण्डारीले भने, ‘नेपाली श्रमिकले साउदीको पूर्वाधार र अर्थतन्त्र बनाउन मद्दत गरेको छ । नेपाली श्रमिकलाई आफ्नो श्रमिकजस्तै सुरक्षा र व्यवहार गर्नुपर्छ ।’
विश्व लेबर मार्केट सम्मेलनको मन्त्रीस्तरीय बैठकमा श्रमिकसँग गरिने व्यवहार र त्यसको सुरक्षाको विषय उठाएको भन्दै मन्त्री भण्डारीले नेपालले पनि अदक्ष श्रमिकभन्दा दक्ष श्रमिक पठाउनु तयार रहेको बताएका छन् । अहिले विश्वमा कुन योग्यता र दक्षता भएको श्रमिक चाहिन्छ, त्यसअनुसार हामीले पनि आफ्ना श्रमिकलाई पठाउन सकिने कुरा राखेको मन्त्री भण्डारीले बताए ।
मन्त्री भण्डारीले सिरियाका श्रममन्त्री अली अलबेद अबुजाम र श्रीलंकाका श्रममन्त्री महिन्दा जयसिंघेसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । नेपाली राजदूत डा. नरेशविक्रम ढकाल, नियोग उपप्रमुख डा. डमरुबल्लभ पौडेल, सहसचिव जीवलाल भुसाल, लेबर काउन्सिलर कवि उप्रेतीलगायत दूतावासका पदाधिकारीहरू द्विपक्षीय भेटवार्तामा सहभागी भएका थिए ।
श्रम सम्झौतामा नेपाली समुदायको ध्यान
साउदी अरबस्थित विभिन्न संघसंस्थामा आबद्ध नेपाली समुदायले नेपाल–साउदी अरबबिच छिटो श्रम सम्झौता हुनुपर्ने चासो व्यक्त गरेका छन् ।
नेपाली दूतावासले श्रममन्त्री भण्डारीको प्रमुख आतिथ्यतामा आयोजना गरेको अन्तक्रियामा नेपाली समुदायका अगुवाहरूले समयसापेक्षअनुसारको श्रम सम्झौता गरी नेपाली श्रमिकलाई सुरक्षित र मर्यादित रोजागरीको ग्यारेन्टी नेपाल सरकारले गर्नुपर्ने माग गरेका छन् । यस्तै, घरेलु र अदक्ष कामदारको रूपमा नेपाली महिला श्रमिकलाई साउदी अरब नपठाउन आग्रह गरेका छन् ।
दक्ष र योग्यता हासिल गरेका महिला कामदारलाई वैद्यानिक तवरले काममा पठाउन सकिने भन्दै नेपाली समुदायका अगुवाहरूले घरेलु कामदार र अदक्ष कामदकार रूपमा आउँदा कठिनाइ भोग्नुपर्नेतर्फ श्रममन्त्रीको ध्यानाकर्षण गराए।
पारिवारिक समाज साउदीका अध्यक्ष जितेन्द्र थपलिया, सुदूरपश्चिम समाजका अध्यक्ष खेमराज भट्ट, गैरआवासीय मधेशी संघका बुधेश्वर महरा, पासनका अध्यक्ष कुमार हुमागाईं, जनप्रगतिशील मञ्चका महासचिव वासुदेव सापकोटा, प्रवासी नेपाली संघका अध्यक्ष अमर श्रेष्ठ, जनसम्पर्क समितिका अध्यक्ष अर्जुन थापा, एनआरएनए कार्यवाहक अध्यक्ष उमेशकुमार भट्टराई र पत्रकार विष्णु घिमिरेलगायतले श्रम सम्झौता, नेपाली श्रमिकको पीडा र महिला श्रमिकलाई साउदीमा घरेलु कामदारमा रोक लगाउनुपर्ने धारणा राखेका थिए ।