बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बागमती प्रदेश खेलकुदमय बनाउन प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ को आयोजनामा भएकोे विविध खेलकुद कार्यक्रमको समापनमा बोल्दै मन्त्री महर्जनले अब आउने बजेटमा खेलकुद क्षेत्रको भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले मुलुकमा संघीयताले प्रदेश र स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाएपछि विगतमा भन्दा खेलकुदका गतिविधि धेरै हुने गरे पनि भौतिक पूर्वाधारको कमीले सोचेजति गर्न नसकिएको बताए ।
नेपालका चर्चित खेलाडीहरू धमाधम विदेश पलायन भइरहेको भन्दै उनले खेलाडी र खेल क्षेत्रमा लागेकाहरूको सहज जीविकोपार्जनका लागि आफू नीति निर्माणमा लागिरहेको जानकारी पनि गराए ।
खेलका माध्यमबाट देशको नाम विश्वसामु चिनाउन सफल खेलाडीलाई स्वदेशमै बस्ने वातावरण बनाउन आफू प्रतिबद्ध रहेको उनको भनाइ छ । उनले प्रदेशभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको अभिलेख राखेर सम्मान गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरे ।
प्रतियोगितामा महिला भलिबल, पुरुष भलिबल भेट्रान्स फुटबल, महिला डोरी तान्ने खेल र फुलकन्ट्याक्ट कराँतेलगायतका खेलहरू सम्पन्न भएको वडाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए । समापन कार्यक्रममा विजेता खेलाडीहरूलाई प्रमुख अतिथि महर्जनले नगद पुरस्कारसहित मेडल तथा ट्रफी प्रदान गरेका थिए ।