अच्युतराज कलौनी कञ्चनपुरमा परिचित नाम हो। उनको सामाजिक कामप्रतिको लगावबाट धेरैले कञ्चनपुरका भावी नेताका रूपमा हेर्न थालेका थिए। तर, कञ्चनपुरवासीको यस्तो दृष्टिबिच बाटैमा बिलिन भएको छ। राजनीतिक एवं सामाजिक अभियन्ता कलौनी शनिबार मृत अवस्थामा फेला परेका छन्। घरदेखि उत्तर करिब ५–६ सय मिटरको दूरीमा सडक पेटीमै ४२ वर्षीय कलौनीको शव फेला परेको छ।
विद्यार्थी जीवनदेखि नै समाजिक सेवामा समर्पित कलौनी विद्यार्थीमाँझ निकै प्रिय थिए । पछि पार्टी राजनीतिमा होमिएका उनी कांग्रेस भीमदत्त नगरको सभापति बने । नेवि संघ केन्द्रीय सहमहामन्त्रीको जिम्मेवारी निर्वाह गरेका उनी कांग्रेसको १४औँ महाधिवेशनबाट भीमदत्त नगर पार्टी कमाण्डरको जिम्मेवारी पाएका थिए । सँगसँगै उनी समाजिक काममा समेत उत्तिकै खटिएका थिए ।
राज्यको लगानीमा सञ्चालित सामुदायिक विद्यालय सुधारको योजना अघि सार्दै जिल्ला सदरमुकाम महेन्द्रनगरस्थित बैजनाथ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका उनी विद्यालयदेखि अन्य साथीभाईकै काम विशेषले शुक्रबार धनगढी गएका थिए । धनगढीबाट राति ९ बजेतिर महेन्द्रनगर पुगेका कलौनी छाती दुखेको भन्दै पैदलै महाकाली अस्पताल पुगेर घर फर्किने क्रममा बिचबाटैमा अस्ताएका छन् । भीमदत्त नगरपालिका–१८ कटान मामाभान्जा चोक सडक पेटीमै मृत भेटिएपछि घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।
कञ्चनपुरका प्रहरी प्रवक्ता उमेशराज जोशीले घटनाको अनुसन्धान अघि बढाएको बताए । ‘शरीरमा कुनै प्रकारको चोट देखिएको छैन, वडासहितका स्थानीयका सिसिटिभी क्यामेरामा पनि उनी एक्लै घरतिर गईरहेको देखिन्छ,’ उनले भने, ‘पोस्टमार्टमपछि थप तथ्य खुल्छ ।’ पोष्टमाष्टर्मका लागि भेरी अस्पताल नेपालगञ्जबाट विज्ञसहितको टोली मगाएको छ । घटनास्थलमा तालिम प्राप्त कुकुरबाट समेत शवको परीक्षण गरिए पनि कुकुरले कुनै संकेत दिएको छैन । दुईटा मोबाइल बोक्ने कलौनीको साथमा एउटा मात्रै मोबाइल भेटिएको र पर्स समेत छेउमै फेला परेको छ । पर्सभित्र रहेको रुपैयाँ फेला परेका छैनन् । एउटा मोबाइकल समेत नपरेपछि घर परिवार एवं स्थानीयमा आशंका उब्जाएको छ । प्रहरी प्रवक्ता जोशीले मृतक कलौनीको पकेटमा एउटा मोबाईल सुरक्षित भेटिएको र अर्कोको बारेमा अनुसन्धान भइरहेको बताए । कलौनीको शव पोष्टमाष्र्टका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।
उनको मृत्युप्रति विद्यालयसहित कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, रास्वपा, नेकपा विप्लव, बहुमत, बैद्य, राप्रपा, जनमोर्चाले दुःख व्यक्त गरेका छन् । कलौनीसँगै धनगढी गएका नेवि संघ पूर्व केन्द्रीय सदस्य एव भीनपा–११ का वडाध्यक्ष प्रकास थापाले कलौनीको निधनप्रति चिन्ता व्यक्त गरेका छन् । थापाले समाजिक सञ्जालमा यस्तो स्टाटस लेखेका छन्, ‘मलाई एक्लै छाडेर किन गयौँ, साथी जीवनका अमुल्य सम्झना तिमिसँग गए, कहिले नबिर्सिने चोट लागेको छ ।’
कलौनीसँगसँगै विद्यार्थी राजनीति गरेका अखिल क्रान्तिकारी कञ्चनपुरका पूर्वअध्यक्ष सिके भट्टले दुई दशकसँगै सहकार्य गरेको सहकर्मी गुमाउँदाको पीडा सहिनसक्नु भएको बताएका छन् । बैजनाथ माध्यामिक विद्यालयका प्रद्यानाध्यापक हरिराज विष्टले विद्यालयले कुुसल नेतृत्व एवं अभिभावक गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् । प्रअ विष्टले अध्यक्ष कलौनीमा समाजका लागि केही गर्नुपर्छ भन्ने सोच विचार भए पनि बिचमै अस्थाएकोले स्तब्ध भएको बताए ।
गृहमन्त्री रमेश लेखकले समेत मृतकका परिवारसँग भेटघाट गरेर श्रद्धाञ्जली अर्पण गर्दै घटनाको छानबिनका लागि मातहतका निकायलाई निर्देशन दिएका छन् । कलौनी घर परिवारदेखि कांग्रेस नेता कार्यकर्ताहरूले घटना रहस्यमयी भएकाले घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने माग अघि सारेका छन ।