बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजनीतिक अस्थिरताको अन्त्य र समुन्नत प्रदेश निर्माणमा दुई ठुला दल मिलेर सरकार गठन भएको बताएका छन् । उनले नागरिकको आवश्यकता र माग पुरा गर्न सरकारले काम गरिरहेको दावी गरे ।
शुक्रबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले सरकारले लोकप्रियता नभइ आवश्यकताको आधरमा काम गरिरहेको बताए ।
‘विपद्बाट प्रभावित नागरिकको लागि राहत वितरण गरिएको छ भने विपद् प्रभावित क्षेत्रको पुनः निर्माणको काम तिव्रता दिइएको छ ।’ उनले भने, ‘प्रदेश राजधानी र संघीय राजधानी सहित प्रदेश अन्तर्गतको सडक पूर्वाधार पुनः निर्माणमा काम भइरहेको छ । प्रदेश सरकारको आयोजना छनौट व्यवस्थित गर्न आयोजना बैंक निर्माण गरी आगामी आर्थिक वर्षबाट कार्यान्वयन गर्नेगरी अघि बढाइएको छ ।’
प्रदेश सरकारी कामकाजी भाषा ऐन कार्यान्वयनको चरणमा रहेको मुख्यमन्त्री लामाले बताए । सरकारले प्रदेशमा कर्मचारी व्यवस्थापनको कामलाई तिव्रता दिइ प्रदेश कितावखानालाई सक्रियतापूर्वक कर्मचारीहरुको तथ्यांक अध्यावधिक गर्ने काम गरिरहेको मुख्यमन्त्री लामाले जानकारी दिए ।