प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ सालसम्म यो सरकार टसमस नहुने बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन प्रधानमन्त्री ओलीले भने, 'यो सरकारले पार्टी टुक्र्याउने भत्काउने जस्ता खुद्रे कुराहरु यस सरकारको मेनुमा छैन । ढुक्क हुनुस् कांग्रेस र एमाले सहितको याे बलियो सरकारको प्राथमिकता त्यस्तो हुन सक्दैन।'
प्रधानमन्त्री ओलीले भने, 'विपक्षमा रहेका साथिहरुले आफ्नो समय बेर्थै खेर फालेजस्तो लागिरहेको छ । याे सरकार ढल्छ, ढल्नै लाग्यो, पुस मसान्त, माघे संक्रान्ति काट्दैन आदि इत्यादी । एउटा गीत बजारमा 'ढले ढले ढले' भन्ने प्रचारमा छ । त्यस्तै यो सरकार पनि आज वा भरे ढल्यो भनेर राजनीतिक रुपमा गाएकाे सुन्छु । यो गित मनोरन्जनको लागि पार्टी उत्सवमा सुहाउला । तर राजनीतिमा सुहाउँदैन । यस्तो गित अब बन्द गरे हुन्छ । ८४ सालसम्म यो सरकार टसमस हुँदैन ।'
प्रधानमन्त्रीले मुलुकलाई समृद्ध बनाउन थालिएका विकास निर्माणका काम सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताउँदै महत्वपूर्ण आयोजनाको प्रगति प्रस्तुत गरेका छन् । प्रधानमन्त्री ओलीले हालै सिद्धबाबा सुुरुङमार्गको ‘ब्रेक थ्रु’ हुनुएक उपलब्धि भएको उल्लेख गर्दै सडक यात्राको असुरक्षा घटाउन र पूर्वाधारलाई दिगो बनाउन सुरुङमार्गको योजना अगाडि बढिरहेको बताए ।
उनले काठमाडौँ–तराई मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरको धेद्रे सुरुङ तथा चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको आयोजना जोगवनी–किमाथाङ्का सडकमार्गसमेत केही दिनअघि मात्रै ‘ब्रेक थ्रु’ भएको अवगत गराए ।
प्रधानमन्त्री ओलीले ठेकेदार कम्पनीले काम छोडेपछि बुटवल–नारायणगढ खण्डको सडक निर्माणको काम द्रुतगतिमा अघि बढिरहेको बताए । उनले मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरको क्रिकेट खेल मैदानलाई रङ्गशाला बनाउने र त्यसमा फ्लडलाइट जोड्ने निर्णयबमोजिम बोलपत्र आह्वान भई तोकिएको दिनभित्रै त्यसलाई सम्पन्न गर्नेगरी काम अघि बढिरहेको जानकारी दिए ।