हेटौँडामा जारी २५औं पुरुष तथा १०औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताअन्तर्गत तेस्रो दिन मंगलबार पाँच चरणका खेल सम्पन्न भएका छन् । जसमा पुरुषतर्फ एफएम रूपेश जैसवालले ४.५ अंक बनाउँदै स्पष्ट एक अंकको अग्रता कायम गरेका छन् । रौतहटका रूपेशले नेपाल च्याम्पियन झापाका राजन सुवेदीलाई पराजित गरेका छन् ।
राष्ट्रिय चेस प्रतिस्पर्धामा मकवानपुरका क्षितिज भण्डारी र झापाका शुश्रूत दहालले समान ३.५ अंक जोडेर संयुक्त दोस्रो स्थान ओगट्न सफल भएका छन् । खेलमा एफएम क्षितिजले काठमाडौंका सिएम नवीन तण्डुकारलाई हराए भने सिएम शुश्रूतले भक्तपुरका विनय थापामाथि जित निकाले ।
यस्तै, स्पर्धामा अन्य तीन खेलाडी समान तीन अंकका साथ संयुक्त तेस्रो स्थानमा छन् । जसमा दोलखाका आशिष फुँयाल, काठमाडौंका पुरुषोत्तम सिलवाल र एफएम रिजेन्द्र राजभण्डारी खेलमा टिकिरहेका छन् ।
यसैगरी, १०औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको पाँचौँ खेल सम्पन्न हुँदा नेसनल वुमन च्याम्पियन सिन्दिरा जोशीले ४.५ अंक जोडेर स्पष्ट अग्रता बनाएकी छिन् । राष्ट्रिय महिला विजेता सिन्दिरा चार जित र एक खेल बराबर खेल्दै अपराजित छिन् ।
प्रतियोगितामा पहिलो हार व्यहोरेका एन्जल महर्जन चार अंकमै सीमित बन्दै दोस्रो स्थानमा छिन् । काठमाडौंका एन्जलले क्रमशः चार जित र एक खेलमा हार आत्मसाथ गरेकी हुन् । उनीसँगै काठमाडौंकै विनिता कपाली चार अंक बनाई संयुक्त दोस्रो स्थानमा छिन् । विनिताले चार खेलमा जित प्राप्त गरेकी छिन् ।
यस्तै, बाँकेकी ईशा गिरी र मोरङकी शान्ति धिमाल समान ३.५ अंक छुदै संयुक्त तेस्रो स्थानमा सम्भावना जगाएका छन् । दुवै खेलाडीले समान तीन जित र एकमा बराबर खेलेका छन् ।