१६ असोजमा अन्त्य भएको बागमती प्रदेश सभाको हिउँदे अधिवेशन चार महिनापछि १८ माघमा बस्ने गरी आह्वान भएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले १८ माघ शुक्रबार बिहान ११ः०० बजे बस्ने गरी प्रदेश अधिवेशन बैठक आह्वान गरेका हुन् ।
बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख देवकोटाले प्रदेश सभाको पन्ध्रौँ अधिवेशन आह्वान गरेका हुन् । यसअघि गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।
गत १६ असोज राति १२ बजेबाट प्रदेश सभाको १४औँ अधिवेशन अन्त्य भएयता पर्याप्त ‘बिजिनेस’ नभएको भन्दै विपक्षी दलले माग गरे पनि सरकारले बैठक आह्वान गरेको थिएन ।
विधेयक अधिवेशनका रूपमा समेत चिनिने हिउँदे अधिवेशनले प्रदेशलाई आवश्यक पर्ने कानुन निर्माण गर्ने अपेक्षा गरिएको छ । अहिलेसम्म प्रदेश सभाबाट ८४ वटा कानुन निर्माण भइसकेकोमा दुईवटा विधेयक भने प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता भएका छन् ।
हाल प्रदेश सभा सचिवालयमा चारवटा संशोधन विधेयक दर्ता छन् । प्रदेश सभा सचिवालयका अनुसार ८ माघमा प्रदेश सभामा प्रदेश औद्योगिक व्यवसाय ऐन ०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन, ०७६ लाई संशोधन गर्न बनेको विधेयक र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन ०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता छन् ।
यस्तै, प्रदेश खेलकुद विकास ऐन, ०७५ लाई संशोधन गर्न बनेको विधेयक पनि दर्ता छ । उक्त विधेयक १० असोजमै दर्ता भएको संसद् सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए ।