उदयपुरमा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत २० हजार एक सय २२ छात्रा अर्थात् किशोरीलाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप दिइने भएको छ।
मंगलबार जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले पत्रकारहरूसँग एक अन्तर्क्रिया कार्यक्रम आयोजना गरी जिल्लाका आठवटै स्थानीय तहमा अध्यनरत किशोरी छात्रा र विद्यालयबाहिर रहेका किशोरीहरूलाई खोप लगाउने जानकारी दिएको हो।
स्वास्थ्य कार्यालय उदयपुरका निमित्त प्रमुख रामनरेश ठाकुरका अनुसार उदयपुरमा यही माघ २३ गतेदेखि फागुन २ गतेसम्म एचपिभी खोप लगाउने अभियान सञ्चालन हुने छ । उनले भने, ‘विद्यालय, स्वास्थ्य संस्था र सामुदायिक स्वास्थ्य केन्द्रसहित तीन सय ९६ खोप केन्द्र बाट खोप लगाउने तयारी छ ।’
कार्यालयका सूचना अधिकारी चिरन्जीवी निरौलाका अनुसार चौदण्डीगढी नगरपालिकामा तीन हजार ३६, बेलका नगरपालिकामा दुई हजार आठ सय ११, त्रियुगा नगरपालिकामा छ हजार तीन सय ७१, कटारी नगरपालिकामा तीन हजार सात सय ७०, लिम्चुङबुङ गाउँपालिकामा पाँच सय ३६, रौतामाई गाउँपालिकामा एक हजार एक सय ८७, ताप्ली गाउँपालिकामा आठ सय ७० र उदयपुरगढी गाउँपालिकामा एक हजार पाँच सय ४१ किशोरीलाई एचपिभी खोप लगाउने तयारी छ । जसमा विद्यालयबाहिर रहेका दश वर्षका किशोरीको संख्या दुई सय दुई र विद्यालयबाहिर रहेका ११ वर्षदेखि १४ वर्षका किशोरीको संख्या तीन हजार दुई सय ६५ रहेको निरौलाको भनाइ छ।
कार्यालयका अनुसार जिल्लाभरि एचपिभी खोप लगाउनको लागि चार सय तीनजना स्वास्थ्यकर्मी र सात सय ९९ जना स्वयंसेवक परिचालन गरिने भएको छ ।
सरकारले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट प्रमाणित उक्त खोप १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभीको संक्रमणबाट सुरक्षित हुनको लागि लगाउने बताइएकाे छ। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा हरेक वर्ष दुई हजार दुई सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ।