मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १३ आइतबार
  • Monday, 27 January, 2025
२o८१ माघ १३ आइतबार ११:४४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पाथीभरामा केबलकार निर्माणका विषयमा झडप हुँदा १३ जना घाइते

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ १३ आइतबार ११:४४:oo

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर केबलकार बनाउनुहुँदैन भन्ने र सुरक्षा कर्मीबिच भएको झडपमा १८ जना घाइते भएका छन् । 
सुरक्षाकर्मीतर्फ १३ र केबलकार निर्माणको विरोध गरिरहेको समूहका पाँचजना घाइते भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पाथीभरा क्षेत्रको बलुडाँडामा शनिबार दुईपटक झडप भएको थियो । पहिलोपटक अपराह्न ४ बजेतिर भएको झडपका क्रममा प्रहरीले १२ राउन्ड अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो । सो क्रममा चारजना सुरक्षाकर्मी र नो केबलकार पक्षधर एकजना घाइते भएका थिए । साँझ करिब ६ बजेतिर फेरि भएको झडपका क्रममा स्थिति तनावग्रस्त बनेको जनाइएको छ । 

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थिति नियन्त्रणमा लिन पटक–पटक गरेको प्रयास असफल भएपछि फायर खोल्नुपरेको जानकारी दिए । मुक्कुमलुङ खारेजी संघर्ष समितिका संयोजक श्री लिङखिमले सुरक्षाकर्मीले घरघरमा खाना खाइरहेका मुक्कुमलुङ खारेजी संघर्ष समितिका कार्यकर्तालाई कुटपिटका साथै अन्धाधुन्ध गोली प्रहार गरी घाइते बनाएको बताएका छन् ।

झडपमा प्रहरीले गोली चलाउँदा आन्दोलनरत पक्षका यामबहादुर लिम्बू (म्याङलुङ (तेह्रथुम), धर्मन पालुङ्वा (फुङलिङ–८, ताप्लेजुङ), सगुन लावती र मंगल लावती (मिक्लाजुङ– ५, पाँचथर) लगायत पाँचजना घाइते भएको लिङखिमले बताए ।  घाइतेमध्ये ‘नो केबलकार’ पक्षधरका तीनजनालाई थप उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालबाट बाहिर रेफर गरिएको छ । बाँकी सबैको जिल्लास्थित अस्पतालमा उपचार भइरहेको जनाएको छ । 

पहिलोपटक पनि गोली चलेको दाबी गर्दै दोस्रोपटक धेरै राउन्ड फायर गरेको मुक्कुमलुङ संघर्ष समितिले जनाएको छ । उनले शान्तिपूर्ण आन्दोलनमा राज्यले गोली चलाएर आफ्नो निरीहता प्रकट गरेको लिङखिमले बताएका छन् । प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार पाथीभरा क्षेत्रको ब्लुडाँडा आसपासमा घरेलु हतियारसहितको समूह बसेको थाहा पाएपछि सुरक्षाकर्मीको टोलीले घरेलु हतियार नियन्त्रणमा लिने प्रयास गर्दा सुरक्षाकर्मी र केबलकार निर्माणको विरोध गरिरहेको समूहबिच घम्साघम्सी भएको थियो । सुरक्षाकर्मीले आन्दोलनरत पक्षबाट खुकुरी र ग्याटिसलगायत विभिन्न घरेलु हतियारहरू बरामद गरेको प्रजिअ शर्माले बताए । 

स्थानीय लिम्बू समुदायले पाथीभरा मुन्दुमी स्थल हो । यस पवित्र स्थानमा केबलकार निर्माण गरिनु हुँदैन भन्दै आन्दोलन गरिरहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकाल अध्यक्ष रहेको पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्न सुरु गरेको छ । केबलकारको स्थानीय पूर्वाधार निर्माणका लागि जिम्मेवारी पाएको हिमालयन कन्स्ट्रक्सन प्रालिले केबलकारको बेस स्टेसन निर्माणका लागि जमिन सम्याउने कार्य थालनी गरेपछि केबलकार खारेजीको आन्दोलनरत पक्षमा रहेकाहरू अहिले पाथीभरा क्षेत्रमा आन्दोलनमा उत्रिएका छन् ।