सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डमा पर्ने पाल्पाको तिनाउ गाउँपालिका– ३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङको शुक्रबार ‘ब्रेक थ्रु’ गरिएको छ । एक हजार १२६ मिटर दूरीको सुरुङमार्गको प्रधानमन्त्री केपी ओलीले भर्चुअल माध्यमबाट ब्रेक थ्रु गरेका हुन् ।
सुरुङमार्ग आयोजना कार्यालयका अनुसार ‘ब्रेक थ्रु’ हुँदासम्म भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत छ । यो सात अर्बभन्दा बढी लगानीको परियोजना हो । सुरुङको तीनवटै बाइपासको ‘ब्रेक थ्रु’ पुसको पहिलो साता नै भएको थियो । त्यसयता मुख्य टनेलको काम तीव्र पारिएको थियो ।
बालुवाटारबाट भर्चुअल सम्बोधन गरेका प्रधानमन्त्री ओलीले सरकारले विकासलाई तीव्रता दिने बताए । पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट यात्रीलाई राहत दिन सिद्धबाबा सुरुङ एक सफल आयोजना साबित हुने बताउँदै ओलीले यसबाट लाभ लिई आवागमन सहज बनाएर सामाजिक एवं आर्थिक सम्बन्ध तथा उत्पादन आदान–प्रदान गर्न शुभकामना दिए ।
‘सुरुङमार्ग ब्रेक थ्रु हुनु पाल्पा, गुल्मीलगायत यस क्षेत्रका बासिन्दाका लागि मात्रै नभएर सिंगै देशको खुसीको कुरा हो । अब नेपाल हिजोझैँ दुर्गम भन्ने रहेन । हामीले यसलाई अझ सुगम बनाउनु छ,’ ओलीले भने, ‘मुलुकमा शीघ्र विकास र सुशासन दिन अहिलेको सरकार तल्लीन छ । हामी अरूको पनि सहयोग लिन्छौँ र हामी बनाउँछौँ हाम्रो देश । देशलाई फाइदा हुने कुरामा सरकारको ध्यान जानेछ । हाम्रा प्रयास यसैतर्फ केन्द्रित छन् ।’
नेपाल हिजोजस्तो दुर्गम नरहेर सुगम बनाउनेतर्फ सरकार केन्द्रित रहेको धारणा प्रधानमन्त्री ओलीले राखे । कार्यक्रमस्थलमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायत सहभागी थिए ।
गाडी गुडाउन एक वर्ष लाग्ने
सुरुङमार्ग ‘ब्रेक थ्रु’ गरिए पनि सुरुङभित्रको लाइनिङ र स्लोप मिलाउन बाँकी छ । तसर्थ गाडी गुडाउन अझै एक वर्ष लाग्ने सिद्धबाबा सुरुङ आयोजना कार्यालयले जनाएको छ । सिद्धार्थ राजमार्ग भएर साना–ठुला दैनिक हजारौँ सवारी बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङलगायत लुम्बिनी र गण्डकीका पहाडी जिल्लामा ओहोरदोहोर गर्छन् ।
आयोजनाकी सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीका अनुसार सुरुङभित्र केही समस्या आए बाइपासबाट निस्कन मिल्ने गरी तीनवटा बाइपास बनाउने काम पनि भइरहेको बताइन् । पहिलो बाइपासको लम्बाइ १५१ मिटर, दोस्रोको १६१ र तेस्रोको १३० मिटर छ ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाखमा निर्माण सक्ने गरी ठेक्का लिएको थियो । २५ फागुन ०७८ को सम्झौताअनुसार ८ चैत ०८३ भित्र काम सम्पन्न गर्नुपर्नेछ ।
तीन वर्षभित्र निर्माण सक्ने गरी बुटवल–गोरुसिंगे सडकको स्तरोन्नतिको शिलान्यास
पूर्व–पश्चिम राजमार्गको ५० किलोमिटर दूरी रहेको बुटवल–गोरुसिंगे खण्ड चार लेनमा स्तरोन्नति गर्न शुक्रबार प्रधानमन्त्री केपी ओलीले भर्चुअल रूपमा शिलान्यास गरेका छन् ।
प्रधानमन्त्री ओलीले आगामी तीन वर्षभित्र बुटवल–गोरुसिंगे सडकखण्ड विस्तार गरिसक्ने बताए । सडक चार लेनमा विस्तारका लागि चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप–आशिष निर्माण सेवा नेपाल जेभीले १३ अर्ब ५५ करोड ६५ लाखमा ठेक्का पाएको छ ।
बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालय प्रमुख इन्जिनियर कुशलता न्यौपानेका अनुसार कपिलवस्तुको चन्द्रौटासम्म विस्तार गर्ने योजना रहे पनि पहिलो चरणमा बुटवल–गोरुसिंगे सडकखण्डको काम अगाडि बढाइएको हो ।
गोरुसिंगे–चन्द्रौटा सडकखण्ड १९ किलोमिटरका लागि डिजाइनको काम भइरहेको छ । बुटवल–गोरुसिंगे सडकखण्ड वनजंगल क्षेत्रमा २४ मिटरदेखि सहरी क्षेत्रमा ५० मिटरसम्मको बनाइँदै छ । यो सडकखण्डमा ३० वटा पुल बन्नेछन् । बजार क्षेत्रमा ओभरहेड ब्रिज पनि बन्नेछन् । १४९ कर्ल्भट र ६ अन्डरपासको योजना छ ।