‘आई र यू इन्टरटेनमेन्ट’ र आँगन इभेन्ट्सको संयुक्त प्रस्तुतlमा ‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ साे हुने भएको छ। यो कार्यक्रम आगामी जुन र जुलाईमा क्यानडाका विभिन्न सहरमा हुने आयोजकमध्येका एक जिआर भण्डारीले जानकारी दिए।
नेपालीको चाप बढेसँगै पछिल्लो समय क्यानडामा पनि नेपाली गतिविधि बढ्न थालेको छ। नेपाली कला र संस्कृतिलाई प्रवर्द्धन गर्दै विगतमा नेपाल फेस्टिभललगायतका विभिन्न कार्यक्रम गरिसकेका भण्डारीले ‘अब हाँस्छ अनि नाच्छ क्यानडा’मा कमेडियनहरू सुमन कार्की, कैलाश कार्की, भरतमणि पौडेलको हास्यव्यंग्य र करिश्मा ढकालको नृत्य हेर्न पाउने बताए।
उनका अनुसार क्यानडाको टोरन्टो, लन्डन, ओटावा, क्यालगरी, भ्यानकुभरलगायतका सहरमा कार्यक्रम हुनेछ। अमेरिकासहित युरोपका विभिन्न देशमा आफ्नो प्रस्तुति दिइसकेका सुमन कार्कीले यसपटकका लागि विशेष तयारी गरिरहेको बताए।
आई र यू इन्टरटेनमेन्टमार्फत निश्चल पौडेल र आँगन इभेन्ट्समार्फत जिआर भण्डारीले क्यानडामा नेपाली कला र संस्कृति झल्किने विभिन्न कार्यक्रम गर्दै आएका छन्। उनीहरूले ‘ऊनको स्विटर’ नामक चलचित्र पनि क्यानडामा नेपालकै मितिमा प्रदर्शन गर्दै छन्।