प्राचीन कपिलवस्तुको बुद्ध क्रिडास्थल तिलौराकोट एकै वर्ष ४८ भन्दा बढी देशका पर्यटकले भ्रमण गरेका छन् । तिलौराकोटमा सन् २०१४ देखि उत्खनन् सुरु भएपछि यहाँ आउने पर्यटक निरन्तर बढीरहेका छन् ।
सन् २०१४ देखि तिलौराकोटमा बेलायतको दुर्हम विश्वविद्यालयको प्राविधिक सहयोगमा पुरातत्व विभागले उत्खनन् गर्दै आएको छ । कोरानाकालपछि सन् २०२०, २०२१ र २०२२ मा भने तिलौराकोटमा पर्यटक आगनम न्यून थियो । सन् २०२४ मा कुल एक लाख ५२ हजार ११४ पर्यटकले तिलौराकोट भ्रमण गरेको लुम्बिनी विकास कोषको तिलौराकोट सम्पर्क कार्यालयका प्रमुख माधव आचार्यले बताएका छन् । कपिलवस्तु बाहेकका जिल्ला, भारतीय र ४८ देशका पर्यटक गरी सन् २०२४ मा भ्रमण गरेको बताएको छ । सन् २०२३ मा ८१ हजार ८१९ पर्यटकले तिलौराकोट अवलोकन गरेका थिए ।
यहाँ आउने पर्यटकमा सबैभन्दा बढी म्यानमार, थाइल्यान्ड, कम्बोडिया, श्रीलंकाका बौद्धमार्गी छन् । अक्टोबर, नोभेम्बर र डिसेम्बरलाई पर्यटकीय सिजन मानिन्छ । डिसेम्बरमा ६ हजार ९०५, नोभेम्बरमा ६ हजार ३४५ र अक्टोबरमा २ हजार ९९७ जनाले तिलौराकोटमा भ्रमण गरेको तथ्यांक छ ।
तिलौराकोट भगवान गौतम बुद्धले २९ वर्षको युवा अवस्था बिताएको तथा उनका पिता राजा शुद्धोधनको राजप्रासादका रुपमा परिचित छ । ९० प्रतिशतभन्दा बढी विदेशी विश्व शान्ति, सद्भावको कामना र तीर्थाटन गर्न आउने गरेको तिलौराकोटस्थित लुम्बिनी विकास कोष तिलौराकोट सम्पर्क कार्यालयका प्रमुख माधव आचार्यले बताएका छन् ।
तिलौराकोटमा गरिएको उत्खनन् र विश्व सम्पदा सुचीमा सुचिकृतका लागि प्रस्तावित भएपछि लगातार विदेशी पर्यटक बढ्नु राम्रो संकेतको रुपमा लिन्छन् लुम्बिनी विकास कोषका परिषद् सदस्य गोपीकृष्ण शर्मा किरन । ‘तिलौराकोटमा उत्खनन् र विश्व सम्पदा सुचीकृतका लागि प्रस्तावित भएपछि विदेशी आउने क्रम बढेको हो,’ उनले भने । खासगरी यहाँ म्यानमार, श्रीलंका, बर्मा, भियतनाम, चीन, थाइल्यान्ड, कोरिया, जापानलगायत देशका पर्यटक आउने गरेको उनले बताए ।
तिलौराकोटमा पर्यटक बढ्नु सकारात्मक भएको कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलको भनाइ छ । बुद्धको क्रिडास्थल तिलौराकोटमा पाइला टेके पुण्य प्राप्ति हुने विश्वासले यसलाई पवित्र स्थल मानेर आउने गरेका छन् । यहाँको मुख्य दरबार भग्नावशेषमा आई सुत्रपाठ, पूर्वी र पश्चिमी गेटमा भगवान गौतम बुद्धको बाल्यकालको लीला पाठ गरेपछि मात्र शान्ति प्राप्त भई आत्म सन्तुष्टि मिल्ने बौद्ध धर्मावलम्बीहरूको विश्वास छ । बुद्धको जीवनसँग सम्बन्धित धेरै पुरातात्विक स्थल यहाँ हुँदा विदेशी पर्यटक आउने गर्छन् ।
तिलौराकोटपछि निग्रमोधराम कुदान, धमनिया स्तुप, सगरहवा, निगालीकोट, गोटिहहवा, सिसहनियाकोटमा समेत पर्यटकहरू पुग्ने गरेका छन् । विदेशी पर्यटक बढे पनि यहाँका होटेल तथा पर्यटन व्यवसायी भने निराश छन् । तिलौराकोट आएका पर्यटकहरू सरदर ३९ मिनेट मात्र बिताएर फर्कने गरेको तथ्यांक छ ।
तिलौराकोट आएका पर्यटकको बसाई र व्यतित गर्ने समय बढाउने किसिमले पूर्वाधार र सौन्दर्यकरण गर्नुपर्ने होटेल व्यवसायीहरूको माग छ । तिलौरोटलाई सन् २०२५ भित्रै विश्व सम्पदा सुचीमा सुचीकृतका लागि आवश्यक तयारी गरिएको कोषका ज्ञानिन राईले बताए । पुरात्व विभागले तिलौराकोट दरबार क्षेत्रमा जग्गा अधिग्रहणको काम समेत तीव्र रूपमा अघि बढाएको पुरातत्व विभागका वरिष्ठ पुरातत्व अधिकृत रामबहादुर कुँवरले बताए ।