स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बिमा कार्यक्रमको सुधार प्रक्रिया सुरु गरेको छ । स्वास्थ्यमन्त्री प्रदीप पाैडेलले सोमबार समाजिक सञ्जालमार्फत् स्वास्थ्य बिमा कार्यक्रम सुधारका लागि गठित कार्यदलले दिएको सुझावअनुसार पक्रिया अघि बढेको जनाएका छन् ।
उनले भनेका छन्, ‘स्वास्थ्य बिमामा सुधारका लागि गठित कार्यदलले दिएको सुझाव कार्यान्वयन प्रक्रिया अघि बढाएका छौं । पहुँच वृद्धि गरेर अझ प्रभावकारी र नागरिक अपेक्षा पूरा गर्ने उद्देश्यसाथ स्वास्थ्य बिमा कार्यक्रममा तत्कालीन तथा दीर्घकालिन नीतिगत र व्यवहारिक पक्षहरूमा हरसम्भव सुधार गर्ने हाम्रो अभिप्राय हो ।’
उनले एक साताभित्र सुधार कार्ययोजनासहित प्रस्तुत हुने पनि जनाएका छन् । सुझावका लागि आग्रह गर्दै उनले भनेका छन्, ‘हाम्रोजस्तो देशमा स्वास्थ्य बिमा कार्यक्रम आवश्यक छ । र, यसका सुधार पनि आवश्यक छ । अनि यसका लागि सरकार प्रतिबद्ध पनि छ । स्तरीय सेवाका साथ स्वास्थ्य बिमा कार्यक्रमलाई परिस्कृत, प्रभावकारी र आम नागरिकको पहुँचयुक्त बनाउने अभियानमा तपाईंबाट रचनात्मक सहयोग अनि प्रतिक्रियाको अपेक्षा गरेका छौं ।’