तारागाउँ सांस्कृतिक केन्द्रले साराफ फाउन्डेसनको सहकार्यमा काठमाडौँको बौद्ध स्थित तारागाउँ नेक्स्टमा बृहद् कला प्रदर्शनी आयोजना गर्ने भएको छ । जनवरी २५ देखि सुरू हुने प्रदर्शनीमा दक्षिण एसियाका दशजना उत्कृष्ट महिला कलाकारहरूले आ-आफ्ना सिर्जना प्रस्तुत गर्नेछन् ।
डा. अर्शिया लोखन्डवालाको परिकल्पनामा हुने 'फेमिनिस्ट फ्युचर: आर्ट, एक्टिभिजम र साउथ एसियन वुमनहुड' नामक प्रदर्शनीले दक्षिण एसियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने आयोजकको भनाइ छ । दुई दिनसम्म चल्ने प्रदर्शनीले पितृसत्तात्मक संरचना, उपनिवेशकालीन धरोहर र लैंगिक राजनीति जस्ता विषय समेत सम्बोधन गर्ने जनाइएको छ ।
प्रदर्शनीको औपचारिक उद्घाटनअघि जनवरी २३ मा 'डिकोलोनाइजिङ द फेमिन : आर्ट, एजेन्सी एण्ड जेन्डर्ड पोलिटिक्स इन साउथ एसिया' शीर्षकमा छलफल समेत आयोजना गरिएको छ ।
प्रदर्शनीमा भारतका ४, नेपालका ३ र श्रीलंका, पाकिस्तान र बंगलादेशका १/१ जना महिला कलाकारका सिर्जना समावेश गरिनेछ । आयोजकका अनुसार भारतबाट अनिता दुबे, मिथु सेन, शेबा छाच्छी र पुष्पमाला एन सहभागी हुनेछन् ।
त्यस्तै, नेपालका अश्मिना रञ्जित, बिधाता केसी र उमा बिष्टासँगै श्रीलंकाकी अनोली पेरेरा, पाकिस्तानकी नाइजा खान र बंगलादैंशकी तायबा बेगम लिपीका सिर्जना प्रदर्शनीमा राखिनेछन् । सबै कलाकारहरूले पारम्परिक लैंगिक भूमिकालाई चुनौती दिँदै महिलाको स्वायत्तता र समाजिक संरचनाहरूको प्रभाव उजागर गर्नेछन् ।
प्रदर्शनीले लिंग र शक्ति जस्ता महत्त्वपूर्ण प्रश्नहरूसँग संवाद गर्नका लागि एक महत्त्वपूर्ण मञ्च प्रदान गर्ने डॉ. लोखंडवालाको भनाइ छ । 'प्रदर्शनीले दक्षिण एसियाली महिला कलाकारहरूको लचिलोपन र शक्तिलाई उजागर गर्छ जसले गहिरो रूपमा बसेका पितृसत्तात्मक संरचनाहरूको विरोध गर्दै आफ्नो कलामार्फत सोचमा परिवर्तन ल्याउन बाध्य बनाएका छन्,' उनले भनिन् ।
नेपालको महिला अधिकारसँग सम्बन्धित मुद्दालाई दक्षिण एशियाली देशका महिला अधिकारका विषयसँग सम्बन्धित संघर्षहरूसँग जोड्ने प्रयास स्वरूप प्रदर्शनी आयोजना गरिएको सराफ फाउन्डेशन तथा तारागाउँ नेक्स्टकी संस्थापक निर्देशक नमिता साराफको भनाइ छ । 'प्रदर्शनी मार्फत हामीले भारत, पाकिस्तान, श्रीलंका, र बंगलादेशका महिलाहरूको संघर्षसँगै नेपाली महिलाहरूका समस्यालाई प्रकाशमा ल्याउन चाहन्छौं,' उनले भनिन् ।
प्रदर्शनीले महिलाको सम्मानसँगै दमनका गर्ने दक्षिण एसियाली समाजको गहिरो र जटिल संरचनाहरूको विश्लेषण गर्ने जनाइएको छ । यसले दक्षिण एसियाली महिला जीवनको बहुआयामिक दृश्य प्रस्तुत गर्दछ, जहाँ ऐतिहासिक रूपमा महिलालाई सम्मान गरिएको छ भने समकालीन अवस्थामा लिंगीय असमानता, हिंसा र सांस्कृतिक परंपराको कठोर वास्तविकता पनि देखिन्छ। शिल्पकला, फोटोग्राफी, इन्स्टलेसन, भिडियो र प्रदर्शनजस्ता विभिन्न कला माध्यममार्फत, प्रदर्शनीका कलाकारहरूले महिलाको जीवनका काहानीहरूलाई पुनः परिभाषित र पुनः आकार दिनेछन्।
प्रदर्शनीमा विभिन्न समकालीन मुद्दाहरूलाई अन्वेषण गर्ने सिर्जनाहरू समेत समावेश छन् । पुष्पमाला एनको 'अभेगा- द प्यासन (२०१२)' ले रामायणका महिलाका पात्रहरूको पारम्परिक चित्रणलाई चुनौती दिँदै उनीहरूको सशक्त पक्षबारे उजागर गर्नेछ ।
अश्मिना रञ्जितको 'सीता ! द आइडिएल वाइफ (२०२५)' ले महिलाको अधिकार र स्वतन्त्रता खोस्ने हिन्दू परम्पराअनुसारको विवाहमा गरिने 'कन्यादान' प्रथाको आलोचना गर्छ । त्यस्तै, तायबा बेगम लिपीले आफ्ना सिर्जनामा विवाहको जटिलता र हिंसात्मक प्रवृत्तिलाई चित्रित गर्दैछन् । उमा बिष्टले छाउपडी प्रथा र कुमारी परम्पराको आलोचना गर्दै नेपाली महिलाका संघर्षलाई प्रस्तुत गर्ने जनाइएको छ ।
बिधाता केसीले महिलाहरूलाई आफ्ना आकांक्षाहरू व्यक्त गर्न र समाजका अपेक्षाहरूलाई चुनौती दिनेछिन् । अनिता दुबे, नाइजा खान र अनोली पेरेराले आफ्नो कला मार्फत महिला शसक्तिकरण र स्वतन्त्रताका विषय उठन गर्नेछन् ।
प्रदर्शनीको औपचारिक उद्घाटनका दिन कलाकार अश्मिना रञ्जितको विशेष प्रस्तुति रहनेछ भने जनवरी २५ का दिन ३ बजे कलाकारहररूले दर्शकहरूलाई आफ्ना कार्य र सिर्जनात्मकताबारे अनुभव सुनाउने आयोजकले जनाएको छ ।