एकीकृत समाजवादी लुम्बिनी प्रदेशको अधिवेशन २१ फागुनमा दाङको घोराहीमा हुने भएको छ। लुम्बिनी प्रदेश समितिको शनिबार बुटवलमा बसेको विस्तारित बैठकले अधिवेशनको मिति तय गरेको हो।
पार्टीका उपमहासचिव मेटमणि चौधरीको आतिथ्यतामा बसेको बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमितिसमेत गठन गरेको छ। सो क्रममा उपमहासचिव चौधरीले एकीकृत समाजवादी कम्युनिस्ट विचार र आदर्शबाट अगाडि बढेको बताउँदै देशभर संगठन चुस्त बनाउने कार्यमा लाग्न कार्यकर्तालाई निर्देशन दिए। उनले केपी ओलीले संसद् विघटन गरेर संविधानमाथि नै प्रहार गर्दा आफूहरूकै कारण संसद र संविधान बचेको बताए। उनले १०औँ महाधिवेशनले पारित गरेको कार्यक्रमअनुसार एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा जुटेको बताए।
एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटीका इन्चार्जसमेत रहेका चौधरीले कोही पनि भ्रममा नपरी समाजवादी कार्यदिशा बोकेर गाउँगाउँमा खटिनसमेत नेता-कार्यकर्तालाई आग्रह गरे।
अधिवेशनले पारित गरेको विधान र कार्यक्रमअनुसार प्रदेश अधिवेशन गर्ने निर्णय गरेको पार्टीका सचिव तथा लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेले बताए। बैठकले १२ वटै जिल्लाको पछिल्लो अवस्थाको रिपोर्टिङ, जिल्ला अधिवेशन तथा उपनिर्वाचनको विषयमा समीक्षा गरिएको पार्टीका लुम्बिनी प्रदेश सचिव अशोक कोइरालाले जानकारी दिए।
बैठकमा एकीकृत समाजवादी लुम्बिनी प्रदेशका सह–इन्चार्जहरू अब्दुल हुसेन खाँ, रमा घर्ती, नन्द बन्जाडे, केन्द्रीय सदस्यहरू सिद्धिचरण भट्टराई, पीताम्बर सारू, भिउमान घर्ती, यादवबहादुर रायमाझी, प्रमेश हमाल, उमा काफ्ले, लक्ष्मी भुसाललगायतको उपस्थिति रहेको थियो।