मधेश प्रदेश सरकारले आज विभिन्न कार्यक्रम गरी बलिदानी दिवस मनाएको छ। दिवसका अवसरमा प्रदेश सरकारले मधेश आन्दोलनका सहिद परिवारलाई दिउँसो सम्मान कार्यक्रम राखेको थियो भने साँझ जानकी मन्दिरपरिसरमा सहिदहरूको सम्झनामा एक लाख दीप प्रज्ज्वलन कार्यक्रम गरेको छ।
सहिद परिवारको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेशलाई अधिकारसम्पन्न बनाउन अझै संघर्ष आवश्यक रहेको बताए। मधेशी सहिद प्रतिष्ठानले बलिदानी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री सिंहले मधेश आन्दोलनको बलमा मुलुकले संघीयता पाएको र बाँकी अधिकार प्राप्तिका लागि अझै संघर्ष आवश्यक रहेको बताएका हुन्। उनले भने, ‘अझै कयौँ अधिकार प्राप्त गर्न बाँकी छन्। प्राप्त उपलब्धिलाई संस्थागत गर्दै बाँकी अधिकारका लागि संघर्ष गर्नु आजको आवश्यकता हो।’
मुख्यमन्त्री सिंहले मधेश आन्दोलनको फलस्वरूप मुलुक संघीय संरचनामा प्रवेश गरे पनि प्रदेश सरकारलाई प्रहरी प्रशासन र ठुला कामका लागि संघको मुख ताक्नुपर्ने बाध्यता रहेको बताए। उनले प्रदेश सरकारमा मुख्यमन्त्री र मन्त्रीहरू बनाए पनि वास्तविक कार्यक्षमता सीमित रहेको बताए।
सिंहले सहिद परिवारको सम्मानमा प्रदेश सरकारले कुनै कमी नराख्ने प्रतिबद्धता जनाउँदै गर्दै सहिद परिवारका लागि रोजगारीका अवसर सिर्जना गर्न कानुन बनाउने योजना रहेको जानकारी दिए।