रामेछाप नगरपालिका–८, रामेछापको भंगरीस्थित धारापानी पोखरीमा डुबिरहेको अवस्थामा शनिबार दिउँसो एक वृद्धको शव फेला परेको छ।
उक्त शव सोही नगरपालिका–८, बाबियाखर्कका ६७ वर्षीय रामकृष्ण बुढाथोकीको रहेको प्रहरीले जनाएको छ। बुढाथोकी बिहीबारदेखि घरपरिवारको सम्पर्कमा थिएनन्। घरबाट एकाएक सम्पर्कविहीन भएका बुढाथोकीको परिवारका सदस्यहरूले खोजी जारी राखेका थिए।
शनिबार दिउँसो धारापानीस्थित पोखरीमा घोप्टो परेको अवस्थामा बुढाथोकीको शव देखेपछि स्थानीयले उनका परिवारलाई खबर गरेका थिए।
उनको शव घटनास्थलबाट निकाली पोस्टमार्टमको लागि मन्थली अस्पताल पठाइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।