भारतको एक अदालतले शनिबार ३३ वर्षीय पुरुषलाई कोलकत्तास्थित एक अस्पतालमा कार्यरत चिकित्सकको बलात्कार र हत्याको दोषी ठहर गरेको छ। गत अगस्टमा पूर्वी सहर कलकत्तास्थित सरकारी अस्पतालको सेमिनार हलमा प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या भएको थियो। पीडितको शव रगताम्य अवस्थामा फेला परेको थियो।
घटनापछि सरकारी अस्पतालका चिकित्सकहरूले थप सुरक्षाको माग गर्दै कलकत्ता र भारतका अन्य ठाउँका हजारौँ नागरिकले ऐक्यबद्धता जनाउँदै डाक्टरहरूको विरोध प्रदर्शनमा सामेल भएका थिए। प्रतिवादी सञ्जय रोयको मुद्दा द्रुत गतिमा सुनुवाई अघि बढाइएको थियो र यस मुद्दामा एक साताअघि मात्र बहस सकिएको थियो।
अस्पतालका नागरिक स्वयंसेवक रहेका रोयलाई बलात्कार र हत्याको दोषी ठहर गरेपछि न्यायाधीश अनिर्बान दासले सोमबार सजाय सुनाइने बताए।
रोयले भने आफू निर्दोष रहेको बताउँदै आएका छन् । फैसलापछि उनले भने, ‘मलाई फसाइएको छ।’ रोयलाई जेलको भ्यानबाट अदालतमा ल्याएको थियो । अदालतमा ल्याउँदै गर्दा प्रदर्शनकारीको भिडले उनीविरूद्ध नाराबाजी गर्दै आक्रमण प्रयास गरेपछि प्रहरी अधिकारीहरूले रोकेका थिए । रोयप्रति आक्रोश व्यक्त गर्न भेला भएका प्रदर्शनकारीले उनलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका थिए।
एक चिकित्सकमाथिको अपराधले देशव्यापी आक्रोश निम्त्यायो र राज्यभरिका डाक्टरहरूले पीडितलाई न्याय दिन र सरकारी अस्पतालमा कडा सुरक्षा उपायको माग गर्दै लामो समयसम्म विरोध प्रदर्शन गरेका थिए। मृतकको शव फेला परेको एक दिनपछि रोयलाई पक्राउ गरिएको थियो।
सन् २०१२ मा दिल्लीको बसमा एक युवतीको सामूहिक बलात्कार र हत्याको घटनासँग यस आक्रमणको विभत्स प्रकृतिको तुलना गरिएको थियो।