स्कुल बसहरूले ट्राफिक नियम उल्लंघन गर्ने गरेको घटना बाहिर आउन थालेपछि नवलपुरमा ट्राफिक प्रहरीले चेकिङ बढाएको छ। पहिलोपटक गरिएको ट्राफिक चेकिङमा गैँडाकोटमा नौवटा सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर कावासोतीका प्रमुख जनकराज बन्जाराले बताए।
चेकिङका क्रममा स्कुल बसमा खास गरेर सिट क्षमताभन्दा बढी विद्यार्थी राखेर बोक्ने गरेको, बसको बिलबुकसमेत नभएको पाइएको बन्जाराले बताए। जिल्ला बाल क्लब नवलपुरको नेतृत्व, जिल्ला ट्राफिक कार्यालयको समन्वय साथै एनसिसी अल्मुनाई एसोसिएसन नवलपुर जिल्ला कमिटी र अस्थायी प्रहरी पोस्ट गैँडाकोटको उपस्थितिमा गैँडाकोट–२ स्थित पूर्व-पश्चिम राजमार्गमा स्कुल बस चेकजाँच गरिएको हो।
बिहान ९ बजेदेखि १०ः३० र बेलुकी ३ः४०–५ः३० सम्मको समयमा चेकजाँच गरिएको हो। विद्यालय बस सञ्चालन निर्देशिका–०७४ को मापदण्डविपरीत सञ्चालनमा आएका एरोमा, एपेक्स, मामाघर एकेडेमी, साइनिङ स्कुल र अक्स्फोर्ड कलेज गरी चार विद्यालयका नौ बस कारबाहीमा परेका छन्।
कारबाहीमा पर्ने अधिकतम एरोमा कलेज चितवनका पाँच गाडी, एपेक्स एकेडेमी चितवन, साइनिङ स्कुल गैँडाकोट, अक्स्फोर्ड कलेज गैँडाकोट र मामाघर एकेडेमी कावासोतीको १–१ गाडी गरी जम्मा नौ गाडी कारबाहीमा परेका हुन्।
जिल्ला बाल क्लबका सचिव साथै एनसिसी अल्मुनाई एससिएसन नेपाल, नवलपुर जिल्ला कार्यसमिति निर्देशक विशाल सापकोटाले विद्यालय बस सञ्चालन निर्देशिकाबमोजिम बसमा प्राथमिक उपचार किट, आपतकालीन ढोका साथै ह्यामर पनि नरहेको र कतिपय गाडी विद्यार्थी बोक्नयोग्य नरहेको पाइएको बताए।