लुम्बिनी प्रदेशमा पुस महिनामा मात्रै तीन सय ६५ सवारी दुर्घटना भएका छन् । यी दुर्घटनामा परी ५७ जनाले ज्यान गुमाएका छन् भने पाँच सय ९२ जना घाइते भएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार यो अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार २६७ सवारी कारबाहीमा परेका छन् । प्रहरी कारबाहीबाट एक करोड ३० लाख २६ हजार पाँच सय एक रुपैयाँ राजस्व संकलन भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार लुम्बिनीमा सबैभन्दा धेरै दुर्घटना रुपन्देहीमा भएका छन् तर दुर्घटनामा ज्यान गुमाउनेको संख्या भने दाङमा धेरै छ । रुपन्देहीमा पुस महिनामा ८३ वटा सवारी दुर्घटनामा नौजनाले ज्यान गुमाएका छन् । यहाँ एक सय १६ जना घाइते भएका छन् । यस्तै, दाङमा ५६ वटा सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु र ९७ जना घाइते भएका छन् ।
नवलपरासी पश्चिममा ५० वटा सवारी दुर्घटना भएका छन् । यहाँ सातजनाको ज्यान गएको छ भने ९३ जना घाइते भएका छन् । बाँकेमा ५६ वटा दुर्घटना भएका छन् । यहाँ नौजनाको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन् ।
बर्दियामा ४५ सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् । कपिलवस्तुमा ४२ दुर्घटनामा नौजनाले ज्यान गुमाएका छन् । यहाँ ६५ जना घाइते भएका छन् ।
प्युठानमा १२ दुर्घटनामा दुईजनाको मृत्यु र २८ जना घाइते भएका छन् । रोल्पामा ११ दुर्घटनामा तीनजनाको मृत्यु र १६ घाइते भएका छन् । गुल्मीमा सातवटा दुर्घटनामा तीनजनाको ज्यान गएको छ । यहाँ २८ जना घाइते भएका छन् ।
पाल्पामा ६ वटा दुर्घटनामा दुईजनाको मृत्यु र नौजना घाइते भएका छन् । अर्घाखाँचीमा पाँचवटा दुर्घटनामा आठजना घाइते भएका छन् । यस्तै, पूर्वी रुकुममाा एक दुर्घटनामा चारजना घाइते भएका छन् ।
लुम्बिनी प्रदेशमा गत वर्षको पुस महिनाको तुलनामा यस वर्षको पुस महिनामा सवारी दुर्घटना बढेका छन् । गत वर्षको पुसमा यहाँ एक सय पाँचवटा दुर्घटना भएका थिए । यस्तै, यहाँ गत मंसिर महिनामा एक सय ९३ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ४९ जनाको मृत्यु र दुई सय ९५ जनामा घाइते भएका छन् ।
प्रहरीले दुर्घटना न्यूनीकरण गर्न ठाउँ-ठाउँमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको जनाएको छ । पुस महिनामा मात्रै एक हजार एक सय २६ पटक कार्यक्रम गरिएको प्रहरीले जनाएको छ । ती कार्यक्रममा ५२ हजार एक सय ९९ जना सहभागी भएको तथ्यांक प्रहरीसँग रहेको छ ।