थारू समुदायले आज माघी पर्व मनाइरहेका छन्। कैलाली–कञ्चनपुरका थारू बस्तीहरू माघी पर्वले उल्लासमय बनेका छन्। गाउँघरमा माघीको रौनक छ। सखियालगायत परम्परागत सांस्कृतिक गीत तथा नृत्यले थारू बस्तीहरू गुल्जार बनेका छन्।
माघी थारू समुदायको सबैभन्दा ठुलो पर्व हो। पुस महिनाको अन्तिम दिन सुरु हुने माघी पर्व २ माघसम्म मनाउने गरिन्छ। थारू समुदायले आजको दिनलाई नयाँ वर्षको रूपमा पनि मनाउने गर्छन्। मिठोमसिनो खाने, आफूभन्दा ठुलाबडा र मान्यजनबाट आशिर्वाद लिने तथा नाचगान गर्दै रमाइलो गरेर माघी पर्व मनाउने गरिन्छ।
माघीको प्रमुख दिन आज आफूभन्दा ठुलाबाट आशिर्वाद लिने र सानालाई स्नेह प्रकट गरेर मनाइरहेका छन्। उसो त थारू समुदायले माघ महिना महत्वपूर्ण ठान्दछन्। विवाह, व्रतबन्ध, परिवारबिच अंशबन्डा गर्ने, गाउँको भल्मन्सा छान्ने, घरमुली तोक्ने कार्य माघ महिनामा नै हुने गर्छन्।
थारू समुदायका अगुवा माधव चौधरीका अनुसार पुसको अन्तिम दिन माघी पर्व सुरु हुन्छ। माघीको उल्लास भने माघी सुरु हुनुअघिबाटै हुन्छ। गाउँमा राति समूहमा बसेर परम्परागत गीत गाउने, नाच्ने कार्य माघी आउनु केही दिनअघि नै सुरु भइसक्छ।
थारू समुदायले माघी सुरु हुने पुस महिनाको अन्तिम दिन दिउँसो मासुका लागि बंगुर काट्ने, राति परम्परागत खानाका परिकार बनाएर खाने तथा रातभर जाग्राम बसेर संस्कृतिअनुसार नाचगान गरेर रमाइलो गर्ने चलन रहेको छ। त्यस्तै, आफूले पुज्ने भगवानका नाममा धुनी जगाएर भजनकिर्तन (धमार) गर्ने चलनसमेत रहेको चौधरी बताउँछन्।
‘हरेक घरमा बंगुरको मासु, माछाको सिध्रा तथा ढिक्री, अन्डीको भात, बरिया, खरियाजस्ता परम्परागत खानाका परिकार पाक्छन्,’ चौधरी भन्छन्, ‘खाना खाएपछि गाउँका भल्मन्सा र मान्यजनको घरमा जम्मा भएर नाचगान गर्दै रातभर रमाइलो गर्छन्।’
यसरी रमाइलो गर्दा मादल, डफु, झार बजाएर पुरुषहरू धमार गीत गाउने तथा मादल, डफुको तालमा झुम्रा, सखिया, मघौटालगायत परम्परागत नृत्य गर्दै महिला–पुरुष रमाइलो गर्छन्।
१ माघमा थारू समुदायको नयाँ वर्ष हो। माघे संक्रान्तिका दिन बिहानै उठेर नजिकैको नदी तलाउ वा जलासयमा गई नुवाइधुवाइ गर्ने चलन छ। माघीमा जल किनेर मात्र नुहाउनुपर्छ भन्ने मान्यता रहेकोले नुहाउनुभन्दा अगाडि पानीमा पैसा, फूल, दियो, प्रसादका रूपमा मिठाई चढाउने गरिन्छ।
नुहाएर घर फर्केपछि त्यसअघि छुट्याएर राखिएको चामल, दाललगायत खाद्यान्नलाई छुने र त्यसलाई चेलीबेटीका लागि छुट्याउने चलन रहिआएको थारू समुदायका अर्का अगुवा प्रभातकुमार चौधरीले बताए। ‘त्यसपछि आमाबुवा, परिवार तथा गाउँछिमेकमा आफूभन्दा ठुला मान्यजनलाई ढोगेर आशिर्वाद लिने र आफूभन्दा सानालाई आशिर्वाद दिने गरिन्छ,’ चौधरीले भने। आफूभन्दा ठुलालाई ढोगेर आशिर्वाद लिने तथा सानालाई प्रेम, स्नेह प्रकट गर्ने भएकाले माघी पर्वले भातृत्व र प्रेम बढाउने काम गरेको उनले बताए।
माघी पर्वअन्तर्गत माघ मसान्तको दोस्रो दिनलाई ‘खिच्रहुवा’ भनिन्छ। यस दिन खिचडी, तरुल पकाएर खाने गरिन्छ। माघे संक्रान्तिको दिन नदी तथा खोलामा नुहाएर आएपछि छोएको चामल, दाललगायत खाद्यान्नमा थपेर छोरीचेलीलाई ‘निसराउ’ (कोसेली) दिने चलन रहेको छ।
माघ महिनामा थारू समुदायले गाउँको भल्मन्साको चयन गर्छन्। भल्मन्साले गाउँमा हरेक कार्यमा नेतृत्व प्रदान गर्छन्। विवाह, अंशबन्डालगायत कार्य पनि माघ महिनामा गर्ने चलन थारू समुदायमा रहिआएको छ। माघीमा अन्डी चामलको भात, रोटी, ढिक्री, बरिया, घोंगी, बंगुरको मासु, माछा, गंगटालगायत खानाका पकवान खाने चलन रहेको धनगढी–६, का दिनेश चौधरीले बताए।