मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १ मंगलबार
  • Tuesday, 14 January, 2025
मोहन विष्ट कञ्चनपुर
२o८१ माघ १ मंगलबार १७:४७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुदूरको मौलिक संस्कृति संरक्षणमा जोड 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ माघ १ मंगलबार १७:४७:oo

सुदूरपश्चिमको मौलिक लोक परम्परा, संस्कृति संरक्षणमा सरोकारवालाले जोड दिएका छन्।  थारू पहाडी समुदायले मनाउँदै आएको माघी साझा पर्व पछिल्ला वर्षहरूमा लोप भइरहेको भन्दै सरोकारवालाले संरक्षणमा जोड दिएका हुन। 

सुदूरको तराई क्षेत्रमा बसोबास गर्दै आएका थारू समुदाय र पहाडमा बस्दै आएका पहाडी समुदायले माघीलाई आ–आफ्नो संस्कृतिअनुरूप मनाउँदै आएका छन्। पश्चिम नेपालका थारू समुदायले १ माघदेखि नयाँ वर्षकै रूपमा मनाउँदै आएका छन्। 

हरेक वर्ष माघ १ गते मकर संक्रान्ति अर्थात् नरहरि पर्व पहाडी समुदाय र थारू समुदायले नयाँ वर्षकै रूपमा माघी मनाउँदै आएका छन्। थारू–पहाडी समुदायले यसरी मनाउँदै पर्व संरक्षण, प्रवर्द्धन एवं नयाँ पुस्तामा पुस्तान्तरण गर्नुपर्ने सरोकारवालाको भनाइ छ। 

मंगलबार भीमदत्त नगरपालिका ४, महेन्द्रनगरमा असहाय महिला उत्थान तथा संस्कृति जगेर्ना केन्द्रले आयोजना गरेको माघी विशेष कार्यक्रममा सुदूरको लोप भइरहेको पर्व संरक्षणमा सरोकारवालाले जोड दिएका हुन्। 

महेन्द्रनगर माध्यमिक विद्यालय(साधारण स्कुल)का पूर्वशिक्षिका एवं योग गुरु विजयालक्ष्मी अवस्थीले पछिल्ला वर्षहरूमा थारू र पहाडी समुदायमा नयाँ पुस्ताहरूले आफ्नो परम्परा संरक्षणमा चासो नदेखाएको भन्दै यसको संरक्षण अपरिहार्य रहेको बताइन्। ‘परापूर्वकालदेखि चल्दै आएका लोकसंस्कृति, कला, परम्परा हामीले संरक्षण गर्नुपर्छ, ‘यो त हाम्रो गहना पनि हो, यसको संरक्षण गर्नु अहिलेका पुस्ताका लागि चुनौती पनि छ।’ 

असहाय महिला उत्थान तथा संस्कृति जगेर्ना केन्द्रकी अध्यक्ष एवं देउडिया मञ्जु गिरीले लोप भइरहेको सुदूरको मौलिक परम्परा संरक्षण अपरिहार्य रहेको बताइन्। ‘आधुनिकतासँगै प्रविधिको विकासले हाम्रा कला संस्कृतिमाथि पनि चुनौती थपिदिएको छ, ‘यसको संरक्षण गर्न नसके हाम्रो पहिचान नै गुम्ने खतरा छ, त्यसैले हामीले सामूहिक रूपमा माघी कार्यक्रम गरेका छौँ, यहाँ थारू र पहाडी समुदायले छुट्टाछुट्टै कला संस्कृति प्रस्तुत गरेका छौँ।’ 

पहिलेदेखि माघीमा खाने परिकार, भेषभूषा, पहिरन झल्किने गरेर हामीले कार्यक्रम गरेको बताउँदै अध्यक्ष गिरीले लोक संस्कृतिसँगै मौलिक खाने परिवार सरक्षण गर्नुपर्ने बताइन्। तरुल, तिलको लड्डु, सखरखण्ड, हरियो नुनजस्ता पोसिला खाने परिकारसमेत वितरण गरेर नयाँ पुस्तामा माघका दिन यस्ता खाने परिकार उपभोग गर्दै आएकोसमेत उनले जानकारी गराएकी छिन्। 

थारू समुदायकी अगुवा युवा एवं पत्रकार पूजा चौधरीले माघी पर्व थारू समुदायमा उत्सवकै रूपमा मनाउँदै आएको बताइन्। उनले ठुलाबडाबाट सानाले आर्शिवाद लिएर मनाउने र मिठामिठा खाने परिकार खाएर मनाउँदै आएको बताइन्। ‘यो पर्व पनि पछिल्ला वर्षहरूमा आधुनिकतासँगै लोप भइरहेको भन्दै चिन्ता व्यक्त गरिन्। 

सुदूरपश्चिम विश्वविद्यालय सभा सदस्य डा. कृष्णदत्त जोशी(बोक्सर)ले आफ्नै परम्परा संस्कृति भुल्ने कार्य भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। ‘हाम्रा पहिचानका सांस्कृतिक कार्यक्रम हामीले भुलिरहेका छौँ, ‘उनले भने, ‘पुराना पुस्तामा भएका कला, संस्कृति अब नयाँ पुस्ताले पनि सिक्नुपर्छ।’ आधुनिकतासँगै नेपालीहरू बिदेसिने प्रवृतिले पनि नेपालीको लोक संस्कृति संरक्षणमा चुनौती थपिदिएको बताए। 

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टिएन जोशीले माघ महिना पवित्र महिना भएकाले यसको बेग्लै महत्व रहेको बताए। उनले माघी पर्व सुपमा बस्दै थारू, पहाडी दुवै समुदायको साझा पर्व भएकाले ऐतिहासिक रूपमा मनाउँदै आएको बताए। उनले प्रतिष्ठानले सुदूरका ९वटै जिल्लामा रहेको कला, साहित्य, भेषभूषा, संस्कृति संरक्षण गर्न लागेको बताउँदै आफ्नो लोक संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरसम्म पहिचान गराउने प्रतिबद्धता जाहेर गरेका छन्। कार्यक्रममा थारू समुदायले नृत्य, पहाडी समुदायले देउडा खेलेर माघी मनाएका छन्।