‘म त ढलेँ ढलेँ…’ गीत गाएर चर्चा बटुलेकी शान्तारानी परियारको अर्को गीत ‘पोखरामा घाम लाग्यो घमाइलो’ले पनि उस्तै धमका मच्चाउन थालेको छ ।
गीतका सर्जक एवं गायक राजन कार्कीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतका टिकटकलगायतका सामाजिक सञ्जालमा धेरै भिडियो देखिन थालेका छन् । छमछमी नाच्न मिल्ने भएकाले पनि यो गीतमा टिकटक र रिल बनाउनेहरू धेरै भएका हुन् । यस गीतमा शान्तारानी परियार, राजन कार्की र जीवन दाहालको स्वर सुन्न पाइन्छ । लय/शब्द पनि राजन कार्कीकै हुन् ।
भिडियोमा राजन कार्की, संगीता क्षत्री, जीवन दाहाल, सपना क्षत्री, वर्षा क्षत्री, मौसुफ क्षत्री, जेनिस दाहाल, आरुसी कार्कीको अभिनय रहेको छ । गीतले अहिले सामाजिक सञ्जालमा बजार तताइरहेको गीतका सर्जक कार्कीले बताए । उनले भने, ‘देशभर चलिरहेका मेला–महोत्सवमा पनि पोखरामा घाम लाग्यो घमाइलो घन्किन थालेको छ ।’ यो गीतको अरेन्ज याम थापा मगरले गरेका छन् भने कोरियोग्राफ वर्षा क्षत्रीले गरेकी हुन् ।
कथा निर्माण राजन कार्की आफैँले गरेका छन् भने डाइरेक्सन पार्ट मनोहर भण्डारीले गरेका छन् । गीतको छायांकन पोखराको लेकसाइड र रूपा गाउँपालिकामा गरिएको कार्कीले जानकारी दिए । केही समयअघि राजन कार्की र जीवन दाहालको आवाजको गीत हरहर महादेवले चर्चा कमाएको थियो । शान्तारानी ‘म त ढलेँ ढलेँ’ गीतमार्फत अहिले सर्वाधिक चर्चामा छिन् ।