दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय’ स्थापना गरेको छ। चित्रकलाको माध्यमबाट जिल्लाको पर्यटन प्रवर्द्धनसँगै कला, साहित्य र मौलिक संस्कार-संस्कृतिको जगेर्ना गर्नका लागि नगरपालिकाले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय स्थापना गरेको हो।
दिक्तेल बजारस्थित रत्नपार्कमा सञ्चालित सपिङ कम्प्लेक्सको पाँचवटा कोठामा स्थापना गरिएको मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आज उद्घाटन गरेका छन्। सो क्रममा मन्त्री पाण्डेले कला, साहित्य र मौलिक संस्कार-कृति संरक्षण तथा पर्यटन प्रवर्द्धनमा नगरपालिकाले सुरुवात गरेको काम प्रशंसनीय भएको प्रतिक्रिया दिए।
नगरपालिकाले १७–२० असोज ०८० सम्म मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरेको थियो। जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरूमा आयोजना गरिएको कार्यशाला तथा प्रदर्शनीमा सहभागी नेपालसहित अस्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकारसहित विभिन्न ५० देशका ख्यातिप्राप्त चित्रकारले क्यानभासमा उतारेका १८२ वटा चित्रलाई संकलन गरेर संग्रहालयमा राखिएको छ।
अमेरिकाकी चित्रकार एवं प्रोफेसर जोय वल्फ, लातभियाकी चित्रकार आन्दा पैकाने, नेपाली चित्रकारहरू रतनकुमार राई, विजय थापालगायत ५० देशका चित्रकारलाई खोटाङमै बोलाएर जिल्लाका १० वटै स्थानीय तहका धार्मिक, ऐतिहासिक एवं पर्यटकीयस्थल तथा धर्म, संस्कार, संस्कृति, परम्परा र रहनसहनलाई क्यानभासमा उतार्न लगाइएको थियो।
संसारभर छरिएर रहेका खोटाङे मनलाई एउटै थलोमा जोड्ने र चित्रकलाका माध्यमबाट खोटाङ र सिंगो नेपाललाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिमा जोड्ने लक्ष्यका साथ ‘मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय’ स्थापना गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए।