मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १७ बुधबार
  • Saturday, 04 January, 2025
२o८१ पौष १७ बुधबार १९:३७:oo
Read Time : < 1 मिनेट
खेलकुद

प्रदेश लिग फुटबलः दोलखा फाइनलमा प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १७ बुधबार १९:३७:oo

दोलखाको टाइगर टिम बागमती प्रदेशको राजधानी हेटौँडामा जारी बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। बुधबार भएको सेमिफाइनलमा सिन्धुलीको ब्लु अल्पाइन क्लबलाई हराउँदै दोलखाको टाइगर टिम फाइनल प्रवेश गरेको हो। 

दोलखाको टाइगर टिमले सिन्धुलीको ब्लु अल्पाइनलाई २–१ गोल अन्तरले पराजित गरेको हो। हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा जारी प्रतियोगितामा दोलखालाई जित दिलाउन मिलन श्रेष्ठ र शम्भुजन श्रेष्ठले एक-एक गोल गरे। यस्तै, सिन्धुलीका तर्फबाट सञ्जीव धामीले एक गोल फर्काए।

खेलको पहिलो हाफको ३१औं मिनेटमा दोलखाका लागि मिलन श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले अगाडि रहेको खेलको दोस्रो हाफको ५६ औँ मिनेटमा सिन्धुलीको तर्फबाट सञ्जीव धामीले गोल फर्काउँदै खेललाई एक एककोे बाराबरीमा ल्याएका थिए। तर, खेलको ६४औँ मिनेटमा दोलखाको तर्फबाट शम्भुजन श्रेष्ठले गोल गरेपछि सिन्धुली पुनः पछि पर्‍यो। 

त्यसपछि दुवैतर्फबाट कुनै गोल हुन नसकेपछि दोलखा सिन्धुलीविरुद्ध २–१ को जित निकाल्दै फाइनल प्रवेश गर्न सफल भयो। प्रतियोगिताअन्तर्गत बिहीबार सेमिफाइनल चरणको अन्तिम खेल हुनेछ। 

फाइनल प्रवेशका लागि ललितपुर फुटबल क्लब र काठमाडौंको चित्लाङ फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल खेल २० पुस शनिबार हुनेछ। ११ जिल्लाको लिग विजेता टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि विजेता टिमले दुई लाख रुपैयाँ र उपविजेता टिमले एक लाखसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ।