मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १६ मंगलबार
  • Friday, 03 January, 2025
२o८१ पौष १६ मंगलबार २३:२७:oo
Read Time : > 1 मिनेट
समाचार

मानसिक र शारीरिक रुपमा तन्दुरुस्त बनाउन खेल क्षेत्रलाई प्रोत्सान गर्नुपर्छ : पुन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १६ मंगलबार २३:२७:oo

माओवादीका उपमहासचिव वर्षमान पुनले पछिल्ला दिनमा नेपाली खेलकुद क्षेत्रले राम्रो प्रगति गरेको टिप्पणी गरेका छन् । खेल क्षेत्रले नागरिकको मानसिक तथा शारीरिक स्वास्थ्य तन्दुरुस्त बनाउन सहयोग गर्ने भएकाले राष्ट्रका हरेक निकायले खेलकुद क्षेत्रलाई प्राथामिकतामा राख्नुपर्ने उनले बताए । 

रोल्पाको होलेरीमा आयोजित ‘अन्तर विद्यालय स्तरीय छैठौं राष्ट्रपति तथा रुन्टीगढी रनिङशिल्ड प्रतियोगिता’को उद्घाटन गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले नेपालको खेल क्षेत्र नमूनायोग्य क्षेत्र बनेको बताए । केही दिनअघि मात्रै एनपीएल प्रतियोगिता सम्पन्न भएको र उत्कृष्ट खेलाडीले ६० लाख हाराहारीको कार जितेको प्रशंग निकाल्दै उनले अहिले देशभर खेल क्षेत्रमा आकर्षण बढेको बताए । 

‘समाज निर्माणका लागि, युवा र किशोरहरुका लागि खेलकुदको महत्व धेरै छ । मानसिक र भौतिक रुपमा स्वस्थ हुनका लागि पनि खेलकुद महत्वपूर्ण छ । आज खेल क्षेत्र नमुनायोग्य क्षेत्र बनेको छ । खेल क्षेत्रबाट नमूनायोग्य खेलाडी बनेर राष्ट्रको इज्जत बढाउन, आफ्नो करिअर बनाउन सकिन्छ । ‘एनपीएलमा एउटै खेलाडीले राम्रो खेलेर ६० लाख बराबरको गाडी पाउँदा उनको बाबु आमा पक्कै खुसी हुनुभयो होला,’ उनले भने, ‘विश्वमा नेपाली क्रिकेटको अवस्था अहिले राम्रो छ । फुटबल र व्यक्तिगत प्रतिस्पर्धाहरु पनि राम्रो भएका छन् । संघीय सरकार, प्रदेश  र स्थानीय सरकारहरुले पनि खेलकुदलाई प्रोत्साहन गरेका छन् । गाउँपालिकाहरुले पनि खेल क्षेत्रलाई प्रोत्साहन गर्दै अघि बढाउनु भएको छ । यसले नागरिकलाई शारिरिक र मानसिक रुपमा तन्दुरुस्त बनाउन सहयोग गर्दछ ।’

नेता पुनले आफ्ना सन्तानले खेलकुद र पढाईलाई सँगसँगै अघि बढाएमा अविभावकहरु पनि खुसी हुनुपर्ने तर्क गरे । ‘पढाई र खेलकुदलाई युवा विद्यार्थीहरुले संगै लगेभने चिन्ता मान्नु हुँदैन । उनीहरुले आफ्नो रुची अनुसार खेलकुदमा जाँदा प्रोत्साहन गर्नुपर्दछ । राष्ट्रले पनि खेलक्षेत्रलाई प्राथामिकतामा राखेको छ ।’

स्थानीय तहहरुले पनि खेल क्षेत्रलाई महत्व दिएको र स्थानीय तहहरु पनि ठूला खेल प्रतियोगिता सम्पन्न गर्न सक्ने अवस्थामा पुगेको उनले बताए । नेता पुनले  माओवादी संविधान संशोधनका लागि तयार भएको पनि बताएका छन् । तर, त्यो संशोधन संविधानका अपुगहरुलाई पूर्ण बनाउन, संघीयता, समावेशीता, धर्मनिरपेक्षता तथा गणतन्त्रलाई अझ सुदृढ बनाउन संशोधन हुनुपर्ने उनले बताए । 

गाउँगाउँमा सिंहदरबार आउनु गणतन्त्रको उपलव्धि भएको बताएका उनले नपुगेका विषयलाई थप गर्दै जाने र स्थानीय सत्ताहरु बलियो बनाउनु पर्ने उनले बताए ।