परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छिन्। मन्त्री डा. राणाले आज साँझ काठमाडौंस्थित भारतीय राजदूतावासमा पुगी स्वर्गीय सिंहको स्मृतिमा त्यहाँ राखिएको शोकपुस्तिकामा हस्ताक्षर गर्दै नेपाल सरकार र नेपाली जनताका तर्फबाट उनीप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन्।
मन्त्री डा. राणाले शोकपुस्तिकामा भारतका पूर्वप्रधानमन्त्री डा. सिंह एक प्रजातन्त्रवादी दूरदर्शी नेता तथा नेपालका सच्चा मित्रका साथै उनले नेपालमा लोकतन्त्र र विकासका लागि सधैँ सहयोग गरेको स्मरण गरेकी छिन्।
उनले सिंहको निधनले नेपालले एक सच्चा मित्र तथा शुभचिन्तक गुमाएको उल्लेख गरेकी छिन्। भारतीय पूर्वप्रधानमन्त्री डा. सिंहको उपचारका क्रममा गत बिहीबार राति ९२ वर्षको उमेरमा निधन भएको थियो।