बिगु गाउँपालिका–४ सुरीटारमा निर्माणाधीन ९९.८ मेगावाट क्षमताको तामाकोशी पाँचाैँ जलविद्युत् आयोजनाको सम्पूर्ण काम ठप्प भएको छ। आयोजनाले आफ्ना जायज माग बेवास्ता गरेको भन्दै स्थानीयवासीले अडिट २ अन्तर्गतका सम्पूर्ण निर्माणसम्बन्धी काम ठप्प पारेका हुन्।
स्थानीय बासिन्दाले एक साताअघि आयोजनासमक्ष ११बुँदे माग तत्काल पुरा गर्न अल्टिमेटम दिएका थिए। तर, आयोजनाले बेवास्ता गरेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
अडिट २ निर्माण गर्दा बिगु गाउँपालिका–२ मौरेका जोखिमयुक्त १० घरपरिवार जोखिममा परेको संघर्ष समितिका सहसंयोजकसमेत रहेका मौरेका स्थानीय अमृतकुमार आचार्यले बताए। उनले अडिट २ बाट बस्ती ५० मिटरभित्रै पर्दा पनि आयोजनाले कुनै चासो नदिई धमाधम निर्माण कार्य गरेकोले आन्दोलनमा उत्रिएको बताए। उनले पटक-पटक बस्तीका बारेमा ध्यानाकर्षण गराउँदा आयोजनाका उच्च अधिकारीहरूसमेत गैरजिम्मेवार बनेको आरोप लगाए।
अडिट २ को टनेलबाट गौरीशंकर गाउँपालिका– ८, खारेको मन्थली, तातोपानी, टाकापु र लाकुरसिंहका गरी करिब एक सय घरपरिवार आंशिक रूपमा जोखिममा परेका छन्। यो समस्याको तत्काल समाधान नगरी काम अघि बढ्न नदिने संघर्ष समिति र स्थानीयको अडान छ।
मंगलबार साँझ विज्ञप्ति जारी गर्दै उनीहरूले जायज माग पूरा नगरी काम अघि बढाउँदा आफूहरूको उठिबास लाग्ने भन्दै अनिश्चितकालका लागि काम बन्द गरेको उल्लेख गरेका छन्। संघर्ष समितिका संयोजक सुक्सिङ तामाङ र सहसंयोजक अमृतकुमार आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा आयोजनासँग पटक-पटक माग राख्दा पनि उल्टै बेवास्ता गरेकाले माग पूरा नहुन्जेल अडिट २ का सम्पूर्ण काम गर्न नदिने उल्लेख छ। उनीहरूले आयोजनामा आवश्यक उपलब्ध भएमध्येकालाई रोजगारी, अडिट, नजिकैको बस्ती व्यवस्थापन, कार्यरत कामदारलाई सरकारी दररेटअनुसारको पारिश्रमिक, सामाजिक विकासतर्फको बजेट पारदर्शी ढंगले सम्पादन, बनेका संरचना दीर्घकालीन हुनुपर्नेजस्ता माग अघि सारेका छन्।
जायज माग सम्बोधन हुन्छन् : आयोजना
तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडका कम्पनी सचिव हरि भट्टराईले स्थानीयका जायज माग पूरा हुने बताएका छन्। उनले दुईवटा स्थानीय तहका ७ वटा वडा मुख्य प्रभावित क्षेत्र भएकाले स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै सामाजिक विकासको बजेट खर्च गर्न प्रभावित क्षेत्रका सरोकारवालाहरूसँग छलफल भैरहेको जनाएका छन्।
उनले टनेल निर्माण गर्दा बस्ती जोखिममा परे त्यसको निकास त्यही वेला निस्किने बताए। भट्टराईले आयोजनामा जायज मागको बारेमा छलफल भैरहँदा स्थानीयले हतारो गरेको बताए। वार्ता र संवादका आधारमा निष्कर्ष निस्किनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।