मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ८ सोमबार
  • Tuesday, 24 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ८ सोमबार २२:४२:oo
Read Time : > 1 मिनेट
समाचार

परराष्ट्रमन्त्री डा. राणा स्वदेश फिर्ता 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ८ सोमबार २२:४२:oo

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा युरोपका केही देश र भारत भ्रमण सकेर आज स्वदेश फर्किएकी छिन् । स्वदेश फर्किएपछि आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले युरोपमा महत्वपूर्ण भेटघाट तथा वार्ता गरेको र नेदरल्याण्ड हेग अवस्थित अन्तर्राष्ट्रिय अदालतमा नेपालका तर्फबाट ‘जलवायु न्याय’ मागका लागि आधारहरू प्रस्तुत गरेको जानकारी दिइन् । 

मन्त्री डा. राणा गत २२ मंसिरमा युरोप गएकी थिइन् । उनको यो भ्रमणको मुख्य उद्देश्य जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे नेपालका तर्फबाट प्रस्तुति दिने रहेको थियो । मन्त्री डा. राणाले आफू र आफ्नो नेतृत्वको प्रतिनिधिमण्डलले गत २४ मंसिरमा उक्त अदालतमा यस विषयमा कुरा उठाएको बताइन् । अन्तर्राष्ट्रिय अदालतमा नेपालले पहिलोपटक जलवायु परिवर्तनको वर्तमान अवस्था र यसका कारण नेपालमा परेको असरका बारेमा अवस्था दर्शाउँदै जलवायु न्याय (क्लाइमेट जस्टिस्) को माग गरेको जानकारी दिइन् । 

त्यसपछि उनले लक्जेम्बर्गका उपप्रधानमन्त्री, विदेश एवं वैदेशिक व्यापारमन्त्री जेभियर बेटेल र बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग छुट्टाछुट्टै भेटवार्ता गरी द्विपक्षीय हित र आपसी चासोका बारेमा कुराकानी गरेको जानकारी दिइन् । 

भ्रमणकै क्रममा युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्रा र कमिसनर फर इन्टरनेशनल पार्टनरसिप जोजेफ सिकेलासँग बेल्जियमको ब्रसेल्समा छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल र युरोपियन युनियनबिचको सम्बन्ध, जलवायु परिवर्तनका कारण नेपालमा परेको असर र नेपालले पाउनुपर्ने जलवायु न्यायका बारेमा कुरा गरेको उनले जानकारी दिइन् । 

साथै उनले युरोपेली आकासमा नेपाली वायु सेवालाई लगाइएको प्रतिबन्ध (सेफ्टी लिस्ट)सम्बन्धी प्रावधान हटाउने विषयमा पहल गर्न पनि आग्रह गरेको बताइन् । 

२ पुसमा परराष्ट्रमन्त्री डा. राणाले जर्मनीको बर्लिनमा आयोजित समान अधिकारसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समूह (एलजिबिटी) हरूको समावेशीकरण र मानवअधिकारका पक्षमा नेपालले धेरै उपलब्धि हासिल गरेको जानकारी अन्तर्राष्ट्रिय समुदायलाई गराएको पनि बताइन् । 

मन्त्री डा. राणा जर्मनीको बर्लिनबाट शुक्रबार भारतको नयाँ दिल्ली पुगेकी थिइन् । नयाँ दिल्लीमा आयोजित भारत–नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई शुक्रबार सम्बोधन गर्दै उनले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुटका लागि अनुरोध गरेको जानकारी गराइन् । त्यस अवसरमा उनले हालसालै निर्माण भएका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालनका लागि भारतसँग सहयोगको अपेक्षा गरिएको भन्दै भारतीय एयरलाइन्स अपरेटरहरूसँग थप उडानका लागि आग्रह गरेको जानकारी दिइन । 

डा. राणाले यसपटकको भारत भ्रमण उक्त आर्थिक सम्मेलनमा सहभागी हुने र स्वास्थ्य उपचारको फलोअप रहेकाले अन्य कुनै राजनीतिक भेटघाट वा कुराकानी नभएको स्पष्ट पारिन ।