नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा सट्टेबाजी गरेको आरोपमा पक्राउ परेका दुई भारतीयलाई प्रहरीले सार्वजनिक गरेको छ।
टोखा नगरपालिका– ३ स्थित ग्रान्डी टावरको नेप्चुन अपार्टमेन्टको ६–बी फ्ल्याटमा सट्टेबाजी (अनलाइन बेटिङ) भइरहेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं जिल्ला प्रहरीले दुईजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा भारतको उत्तरप्रदेश जिल्ला आग्रा सिकान्द्रा पञ्चायत घर भई ग्रान्डी टावरको नेप्चुन बिल्डिङमै बस्दै आएका ४७ वर्षीय हरीश जावा र सोही स्थानका ३८ वर्षीय ऋषि माकन रहेका छन्।
उनीहरूबाट पाँच थान मोबाइल, एक थान ल्यापटप, आठ थान सिमकार्डसहित हरीश जावाको भारतीय राहदानी र आधार कार्ड तथा ऋषि माकनको आधार कार्ड र भोटिङ कार्ड एक–एक थान बरामद भएको प्रहरीले जनाएको छ।