नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाको अगुवाइमा सरसफाइ अभियान सञ्चालन भएको छ। आइतबार बिहान जिल्ला सदरमुकाम खाँदबारीको बसपार्क क्षेत्रबाट महासंघको अगुवाइमा सरसफाइ अभियान सञ्चालन भएको हो।
‘वातावरणीय स्वच्छता कायम राखौँ, स्वस्थ जीवन बाँचौँ, हाम्रो फोहोर हाम्रै जिम्मेवारी’ भन्ने नाराका साथ महासंघले सामूहिक सरसफाइ अभियान सञ्चालन गरेको हो।
कार्यक्रमका जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले अभियानले फोहोर मैला व्यवस्थापनका लागि जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। यसको दिगो समाधानका लागि खाँदबारी नगरपालिकाले कार्यक्रम ल्याउन आवश्यक रहेको धारणा राखेका थिए।
खाँदबारी नगरपालिका–१ का वडाध्यक्ष निरञ्जन श्रेष्ठले फोहोर व्यवस्थापनका लागि पत्रकार महासंघले सुरु गरेको अभियानको दिगोपनाका लागि वडाको तर्फबाट सकेको सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाए। उनले वातावरण सफा राख्न आमनागरिकले आफ्नो जिम्मेवारी महसुस गरिदिए वातावरण आफैँ सफा हुने धारणा राखे।
पत्रकार महासंघ अध्यक्ष कृष्णराज शाक्यले सरसफाइ अभियानलाई निरन्तरता दिन र सहकार्य गर्न सरोकारवाला सबैमा हातेमालो आवश्यक रहेको बताए। उनले आगामी दिनमा समेत अभियानले निरन्तरता पाउने बताए।