नवलपुरमा पाटेबाघ मारेको अभियोगमा एकजना पक्राउ परेका छन्। चितवन राष्ट्रिय निकुञ्जले नवलपुर विनयी त्रिवेणी गाउँपालिका– १ का २० वर्षीय अमृत न्यौपानेलाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो।
विनयी त्रिवेणी– १ मा पर्ने तीनचुली सामुदायिक वनको लक्ष्मीडाँडामा वन्यजन्तुको सिकार गर्न प्रयोग भएको सवारीसाधनको ब्रेकको तार एक थान, केवल लाइनमा प्रयोग हुने, तार एक थान र रौँ अल्झेकोजस्तो देखिने तार एक थान फेला परेसँगै न्यौपानेलाई पक्राउ गरिएको निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए।
गत कात्तिक २ गते सोही स्थानका जितबहादुर थिङले बाघको आक्रमणबाट ज्यान गुमाएका थिए। थिङ मृत फेला परेको स्थानमा अनुसन्धान गर्दै जाँदा पासोका लागि प्रयोग भएका सामान सोही दिन बरामद गरिएको मगरले बताए। अनुसन्धानकै आधारमा निकुञ्ज र नेपाली सेनाको टोलीले न्यौपानेलाई पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाएको थियो।
न्यौपानेबाट बरामद मोबाइलमा समेत पासोमा परेको बाघको तस्बिर फेला परेको र उक्त तस्बिर न्यौपानेले नै खिचेको नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट पुष्टि भएको पत्रकार सम्मेलनमा सूचना अधिकारी मगरले जानकारी दिए।
बाघलाई पासो थापिएको स्थानबाट बरामद तारमा अल्झिएको रौँ पाटेबाघको नै रहेको र पक्राउ परेका न्यौपानेले पासोमा बाघ परेपछि आफूले रुखमा चढेर बाघको तस्बिर खिचेको बयानमा स्वीकार गरेका मगरले जानकारी दिए। उक्त रौँलाई नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा डिएनए नतिजाअनुसार बाघकै भएको पुष्टि भएको मगरले बताए।
पक्राउ परेका न्यौपानेलाई बाघ मार्ने उद्योगमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को पाँचौँ संशोधनको दफा २६ उपदफा ५ (घ)बमोजिम कसुर गरेकाले सोही ऐनको दफा २६ को उपदफा १ बमोजिम सजाय माग दाबीसहित मुद्दा दर्ता गरिएको छ।