१.बालबालिकालाई प्रारम्भिक बाल विकास अर्थात् इसिडीमा के सिकाउनु ठिक होला ?
प्रारम्भिक बाल विकास अर्थात् इसिडीको अर्थ किताब, कापी बोकेर पढ्न सिकाउनु होइन । इसिडीमा त समूहमा घुलमिल हुन र साथीहरूसँग बोल्न, खेल्न सिकाउनुपर्छ । तर, हामीकहाँ खुलेका प्रायजसो बाल विकाससम्बन्धी स्कुलहरूले बालबालिकालाई अनावश्यक बोझ र तनाव दिइरहेको अवस्था छ । दुई–तीन वर्षको उमेरका कलिला बालबालिकालाई पढाउने, लेखाउने र घोकाउने गरेको पाइन्छ । बाल मस्तिष्क विकासका दृष्टिले यो राम्रो हुँदै होइन ।
बाल विकास केन्द्रहरूले
२.के गर्दा ठिक होला त ?
अहिलेका आमअभिभावकबाट बालबालिकाले पढ्नै मन गरेनन् भन्ने गुनासो आइरहेको हुन्छ । उनीहरूले पढ्न, लेख्न मन नगर्नुको मूल कारण पनि सानैदेखि उनीहरूमा पढाइको बोझ बोकाउनु हो । अहिले इसिडीलाई दुई वर्षको मात्र बनाउने भन्ने विषय चर्चामा आएको सुनिन्छ । यो बहस ठिक छ । तर, यति भन्दै गर्दा यस तहमा बालबालिकालाई पढाइको बोझ थपिदिने गल्ती गरियो भने त्यसले उनीहरूमा पढाइ, लेखालाई बोझ ठानेर त्यसबाट भाग्ने मनोवृत्तिको विकास हुन सक्छ । यो उमेरमा त उनीहरूलाई सकभर फरकफरक परिवेशबाट आएका समान उमेरका अन्य बालबालिकासित घुलमिल हुन, बोल्न, समूहमा खेल्न सिकाउनुपर्छ । अर्को कुरा कुनै पनि बच्चा पाँच वर्ष नहुँदै उसको शारीरिक र बौद्धिक विकास राम्रो हुन सक्दैन । यसबारे सबै सचेत हुनु जरुरी छ ।
३.इसिडी तह पनि सामान्य स्कुल नै हो ?
इसिडी तहमा बालबालिकालाई उनीहरूका रुचिअनुसारका काम गर्न दिने, बढीभन्दा बढी बोल्न लगाउने, बालमनोविज्ञान बुझेर उनीहरूसित व्यवहार गर्ने विषयमा ध्यान दिनुपर्छ । उनीहरूको बौद्धिक, सामाजिक, शारीरिक र भाषिक विकासको आधार हो इसिडी । त्यसैले, यो सामान्य स्कुल होइन ।