झापाको दमक नगरपालिकाले पसल–पसलमा पुगेर कर संकलन अभियान सुरु गरेको छ । दमक नगरक्षेत्रमा व्यवसायीको संख्या दश हजारभन्दा बढी भए पनि करको दायरामा दुई हजार हाराहारी मात्र आएपछि कर उठाउने अभियान नै सुरु गरेको हो ।
नगरपालिकाले गाडीमै राजस्व शाखाका कर्मचारीसहित पसल–पसलमा गएर कर संकलन गरिरहेको छ । गाडीमै आवश्यक उपकरण लगेर व्यवसाय नवीकरण तथा नयाँ दर्ता भइरहेको राजस्व समिति संयोजक तथा उपप्रमुख रेगिना भट्टराई प्रसाईंले जानकारी दिइन् । उनका अनुसार दमक नगरपालिकाले पसल–पसलमा गएर दर्ताभन्दा बाहिरका सामग्री बेचेको, राजस्व नतिरेको पनि अनुगमन गरिरहेको छ ।
नगरपालिकाको राजस्व समितिको निर्णयअनुसार सबै व्यवसायीलाई करको दायरामा ल्याउन कर संकलन अभियान सुरु गरिएको उनले बताइन् । ‘व्यवसाय गर्दा–गर्दै नगरपालिका जाने फुर्सद नहुन सक्छ । त्यसकारण लामो समयदेखि नवीकरण पनि छुटेको छ,’ उनले भनिन्, ‘नगरपालिका आउन नपाएर नै दर्ताविना पनि पसल चलिरहेको छ । यस्तो नहोस् भनेर हामीले नागरिकलाई घर–घरमा सेवा दिएका हौँ । घरदैलोमै आफ्नो सरकार छ भनेर अनुभूति गराउन पनि यो अभियान चलाएका हौँ ।’
सोमबारबाट सुरु भएको अभियानमा शुक्रबारसम्म पसलको नवीकरण र नयाँ दर्ताबाट कुल दुई लाख ६२ हजार आठ सय ३८ रुपैयाँ राजस्व संकलन भएको दमक नगरपालिकाले जनाएको छ । अभियानका क्रममा दुई सय एक पसलको अनुगमन भएको छ । त्यस क्रममा २९ वटा पसलको व्यवसाय नवीकरण, ३२ वटा पसल नयाँ दर्ता र ४३ वटा पसललाई वक्यौता असुलीका लागि पत्राचार गरिएको दमक नगरपालिकाले जनाएको छ । ‘अभियानका क्रममा चालू आर्थिक वर्षको नवीकरण गर्ने व्यवसायीलाई १० प्रतिशत छुटको व्यवस्था गरिएको छ,’ उनले भनिन्, ‘लामो समय नतिर्नेलाई जरिवाना पनि लाग्छ । व्यवसाय बन्द गर्न चाहनेले जतिसुकै अवधिबाट राजस्व नतिरेको भए पनि तीन आर्थिक वर्षको तिरेपछि बन्द गर्न कर कार्यालयलाई हामी सिफारिस गर्छौँ ।’
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं पनि नगरपालिकाको यो अभियान सकारात्मक रहेको बताउँछन् । व्यवसाय सञ्चालन गरेपछि दर्ता तथा नवीकरण गर्नु कर्तव्य नै रहेको उनको भनाइ छ । ‘व्यवसाय सञ्चालन गरेपछि राज्यलाई कर तिर्नैपर्छ । कर तिरेपछि व्यवसायीलाई साह्रोगाह्रोमा नगरपालिकाले सहयोग गर्ने दायित्व हुन्छ । नगरपालिकाको यो अभियान राम्रो छ । तर, निरन्तरता दिन आवश्यक छ,’ उनी भन्छन्, ‘नगरपालिकाले निरन्तर अनुगमन पनि गर्नुपर्छ । हेर्दा किराना पसल हुन्छ । तर, मदिरा पनि बेचिरहेको हुन्छ । यस्तो गर्नु गलत हो । यसमा पनि ध्यान दिनुपर्छ ।’