कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले चीन भ्रमण आफूहरूको चाहनाअनुसार सफल बनाएकोमा बधाई दिएका छन्। शनिबार कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले गठबन्धनमा रहेको दल एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले चीन भ्रमण राष्ट्रहित अनुकूल सफल बनाएकोमा बधाई दिएका हुन्।
भेलामा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले प्रधानमन्त्री ओलीको प्रशंसा गर्दै भने, ‘हाम्रो सम्बन्ध कुनै एक देशसँग मात्रै होइन, सबैसँग राम्रो हुनुपर्छ र ओलीले त्यही नीतिअनुसार राष्ट्रहितमा काम गरेर आएकोमा उहाँलाई हार्दिक बधाई पनि छ।’
देउवाले राजनीतिक स्थायित्वका लागि एमालेसँग मिलेर गठबन्धनको सरकार बनाएको र सरकारले आफूहरूले भनेजस्तै राम्रो काम गरिरहेको बताए।
तल्लो तह बलियो बनाउन सभापतिको निर्देशन
तल्लो तह बलियो भए मात्र पार्टी र लोकतन्त्र बलियो हुने भन्दै एक भएर बलियो बनाउन निर्देशन गरेका छन्। भेलामा नेता कार्यकर्तालाई निर्देशन गर्दै सभापति देउवाले पार्टी बलियो बनाउन स्थानीय तहदेखि नै विवाद र गुट उपगुट अन्त्य हुन र समयमै विधानको कार्यान्वयन हुन आवश्यक भएको बताए।
उनले ग्रास रुट बलियो नभएको पार्टी कहिल्यै बलियो हुन सक्दैने कार्यक्रममा बताए। सभापति देउवाले नेता कार्यकर्ताहरूलाई निर्देशन दिए, ‘तपाईहरू सबै ग्रास रुट बलियो बनाउन लागि पर्नुहोस् ग्रास रुट नै हाम्रो जग हो जग बलियो भएको पार्टी कहिल्यै हार्दैन।’