मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १८ मंगलबार
  • Wednesday, 04 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर १८ मंगलबार २१:५५:oo
Read Time : > 1 मिनेट
समाचार

उपचुनावले जनप्रतिनिधिकाे कार्यशैलीमा व्यापक सुधार गर्नुपर्ने सन्देश दिएको छ : पोखरेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर १८ मंगलबार २१:५५:oo

एमाले महासचिव शंकर पोखरेलले उपनिर्वाचनको परिणामले जनप्रतिनिधिहरूले आफ्नो कार्यशैलीमा व्यापक सुधार गर्नुपर्ने सन्देश दिएको बताएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै महासचिव पोखरेलले यसपटकको निर्वाचनमा आमरूपमा पहिले जितेका सिटमा देखिएको परिवर्तन आश्चर्यजनक रहेको बताएका छन्।

उनले वक्तव्यमा भनेका छन्, ‘एमाले विगतमा जितेका सात वडाध्यक्षमध्ये एक सिट मात्र कायम राख्न सक्यो। माओवादीले विगतमा जितेका ६ वडाध्यक्षमध्ये पूर्वी रुकुमलाई छोडेर सबै गुमाउन पुग्यो। कांग्रेसले १९ वडाध्यक्षमा १० र ६ पदाधिकारीमध्ये कीर्तिपुरलाई छोडेर सबै गुमाउन पुग्यो। जनप्रतिनिधिको भूमिकाप्रति स्थानीय जनता सन्तुष्ट नभएको देखिन्छ। यसबाट जनप्रतिनिधिहरूले आफ्नो कार्यशैलीमा व्यापक सुधार गर्नुपर्ने सन्देश उपनिर्वाचनले दिएको छ।’

उनले उपनिर्वाचनमा एमाले तेस्रो भएको भन्दै प्रचार भइरहे पनि निर्वाचन क्षेत्रको विगतको परिणाम र त्यस क्षेत्रको राजनीतिक प्रभावका हिसाबले विश्लेषण गर्दा निष्कर्ष भिन्न देखिने बताएका छन्। 

उपचुनाव भएका ४४ सिटमा कांग्रेसले विगतमा जितेका २७ सिट रिक्त भएका थिए। त्यसमा दुई जिल्ला समन्वय प्रमुख, तीन पालिका प्रमुख-अध्यक्ष र तीन पालिका उपप्रमुख-उपाध्यक्षका साथै बाँकी वडाध्यक्ष रहेका थिए। त्यसपछि दोस्रोमा माओवादी केन्द्रले जितेका आठ सिट थिए। जसमा दुई उपाध्यक्ष र ६ वडाध्यक्ष थिए। एमालेले चुनाव जितेका सात वडाध्यक्षको सिटमा मात्र उपचुनाव भएको थियो। चुनावको परिणामलाई त्यसकै सेरोफेरोमा विश्लेषण गर्नुपर्ने उनको भनाइ छ। 

चुनावी परिणामका हिसाबले समग्रतामा कांग्रेसले कीर्तिपुरको मेयरसहित १६ वडाध्यक्ष जितेको छ। जिल्ला समन्वय प्रमुख दुवै सुरक्षित गरेको छ। यस हिसाबले उसले दुई अध्यक्ष र तीन उपप्रमुख-उपाध्यक्ष गरी पाँच पदाधिकारी र तीन वडाध्यक्ष गुमाएको छ। माओवादी केन्द्रले एक अध्यक्ष र एक उपाध्यक्ष र एक वडाध्यक्ष थप्न सफल भएको छ। यद्यपि, माओवादीको जितमा विगतको चुनावमा कांग्रेससँगको तालमेलमा उसले आफ्नो प्रभाव क्षेत्रमा छोडेका सिट पनि सामेल छन्। यद्यपि, कोशी प्रदेशको तराई क्षेत्रमा भने उसले आफ्नो जनमतमा केही सुधार गरेको उनको भनाइ छ। 

उनका अनुसार एमालेको परिणामको विषय विगतमा जितेका सात वडाध्यक्षका ठाउँमा एमाले एक अध्यक्ष, दुई उपाध्यक्षसहित पाँच वडाध्यक्षमा जितेको छ। गुमेको दुई वडाध्यक्षका ठाउँमा एक अध्यक्ष र दुई उपाध्यक्षसहित तीन पदाधिकारी जित्न सफल भएको छ। यस हिसाबले एमालेका लागि पनि निर्वाचनको परिणाम सुधारउन्मुख छ। 

तर, एमालेका स्थानीय कमिटीको योजना र अपेक्षाअनुरूप भने चुनावी परिणाम आउन नसकेको उनको भनाइ छ। वक्तव्यमा भनिएको छ, ‘विशेष गरी राजधानी काठमाडौंमा हुने निर्वाचनको परिणाममा उल्लेख्य सुधारको अपेक्षा गरिएको थियो, त्यो पूरा हुन सकेन। अझै पनि सहरी क्षेत्रका मतदाताको झुकाव मूलधारका राजनीतिक दलका पक्षमा आउन सकेको देखिँदैन। त्यसमाथि पछिल्लो समयमा सामाजिक संजालमा भएको एमाले र त्यसको नेतृत्वका विरुद्धको कुप्रचारले पनि एक हदसम्म चुनावी परिणामलाई प्रभावित गरेको देखिन्छ।