परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनको छेन्दु पुगेकी छिन्। चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि उनी आज नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेकी हुन्।
मन्त्री डा. राणालाई छेन्दुमा चीनको विदेश मन्त्रालयको सिचुआन प्रान्तीय डेपुटी डाइरेक्टर जनरल ली हुछियाङ र चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले स्वागत गरेको उनको सचिवालयले जनाएको छ।
भ्रमणका क्रममा मन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन्। सो भेटवार्ता शुक्रबार चीनको छेन्दु सहरमा नै हुनेछ। चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीस्वरूप उनी चीन गएकी हुन्।