प्रतिनिधिसभा सदस्य माधव सापकोटाले नेपालका जलविद्युत् परियोजनाहरूले क्षेत्रीय साझेदारीलाई थप सुदृढ पार्दै दिगो विकास र जलवायु संकटका चुनौतीहरूसँग जुध्न योगदान गरिरहेको बताएका छन्।
इन्डोनेसियाको राजधानी जाकार्तामा त्यहाँको समुद्री मामिला तथा प्राकृतिक स्रोत मन्त्रालय र स्वनीति इनिसियटिभ्सको संयुक्त आयोजनामा जारी ग्रिन साउथ एलायन्स इनर्जी ट्रान्जिसन सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलका तर्फबाट सम्बोधन गर्दै उनले नेपालको जलवायु नेतृत्व, ऊर्जा रूपान्तरण र क्षेत्रीय सहकार्यका विषयमा सम्बोधन गरेका हुन्।
पार्लियामेन्टेरियन ग्रुप अफ क्लिन एयर पिजिसिएका लागि अन्तर्राष्ट्रिय संसदीय समूहको नेपाल च्याप्टरको सहअध्यक्षसमेत रहेका सांसद सापकोटाले कार्यक्रममा नेपालले जलवायु परिवर्तनका चुनौतीहरू सामना गर्न गरेको प्रतिबद्धता, स्वच्छ ऊर्जा उत्पादनको महत्त्वाकांक्षा, र क्षेत्रीय सहकार्यका सम्भावनाहरूको चर्चा गरेका हुन्। उनले भने, ‘नेपालले २०५० सम्म शून्य कार्बन उत्सर्जन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। हाम्रो जलवायु अनुकूलन रणनीतिले स्थानीयस्तरमा समुदायलाई सशक्त बनाउँदै दिगो विकासको बाटोमा अघि बढ्न प्रेरित गरेको छ।’
उनले नेपालको जलस्रोत र जलविद्युत् क्षमताबारे जानकारी गराउँदै ६ हजारभन्दा बढी नदीहरूले वार्षिक २२० अर्ब घनमिटर पानी प्रवाह गर्ने क्षमता रहेको बताए। उन भने, ‘नेपालले २०३५ सम्म २८ हजार मेगावाटभन्दा बढी स्वच्छ ऊर्जा उत्पादनको लक्ष्य राखेको छ। यसले राष्ट्रिय माग पूरा गर्नेछ, छिमेकी राष्ट्रहरूमा ऊर्जा निर्यात गर्नसमेत योगदान दिनेछ।’
उनले हालै भारत र बंगलादेशसँग भएको विद्युत् निर्यात सम्झौतालाई उदाहरण दिँदै नेपालको जलविद्युत् विकासले क्षेत्रीय ऊर्जा साझेदारीलाई सुदृढ बनाइरहेको स्पष्ट पारे। जलविद्युत् परियोजनाहरूले रोजगारी सिर्जना गर्ने, पूर्वाधार विकास गर्ने र समतामूलक विकासलाई सहयोग गर्ने उनको भनाइ थियो।