मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १३ बिहीबार
  • Thursday, 28 November, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ मङ्सिर १३ बिहीबार १९:३१:oo
Read Time : < 1 मिनेट
समाचार

आफैँ पढ्ने शिक्षालयको चेकबुक चोरी गरी बैंकबाट पैसा निकाल्ने विद्यार्थी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ मङ्सिर १३ बिहीबार १९:३१:oo

प्राविधिक शिक्षालयको लेखा शाखाबाट चेकबुक चोरी गरेर बैंकबाट रकम निकाल्ने एक बिद्यार्थीसहित दुईजना पक्राउ परेका छन्। मोरङ बुढीगंगा गाउँपालिका–४ हात्तीमुढास्थित मनमोहन स्मृति पोलिटेक्निकको लेखा शाखाबाट ७ मंसिरमा चेकबुक चोरी गरी नक्कली हस्ताक्षर र छाप प्रयोग गरेर दुई लाख ६६ हजार झिकेको आरोपमा एक विद्यार्थीसहित दुईजना पक्राउ परेका हुन्। 

पक्राउ पर्नेहरूमा पोलिटेक्निकमा अध्यनरत सप्तरी राजविराज नगरपालिका–६ खर्साल टोलका १९ वर्षीय सुमितसागर यादव र पूर्वविद्यार्थी २३ वर्षीय टंकप्रसाद यादव रहेका छन्। 
जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता डिएसपी वेदप्रकाश शर्माका अनुसार धरौटी राख्न आएका सुमित सागरसँगै आएका टंकप्रसादले लेखा शाखाबाट एकल हस्ताक्षर भएका बैंकका ६ वटा र खाली चेक ८ वटा गरी जम्मा १४ वटा चेक चोरी गरेका थिए। चोरी भएका चेकमध्ये एभरेस्ट बैंकको चेकबाट किर्ते सहीछाप गरी विभिन्न शाखाबाट दुई लाख ६६ हजार ६९२ रुपैयाँ निकालेका थिए। 

सही गरिसकेका केही चेक हराएको खुलेपछि पोलिटेक्निकले तत्काल बैंक र प्रहरीलाई खबर गरेको थियो। एभरेस्ट बैंक सुनसरी दुहबीमा मंगलबार रकम सटही गर्ने क्रममा हस्ताक्षर नमिलेपछि बैंकले प्रहरीलाई खबर गरेको थियो। इलाका प्रहरी कार्यालय निमुवा मोरङको टोलीले किर्ते छाप र चेकसहित मंगलबार दिउँसो नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। उनीहरूले आफ्नो अपराध स्वीकार गरिसकेको र चोरी कसुरमा अदालतबाट पाँच दिन म्याद थप गराएको मोरङ प्रहरीले जनाएको छ।