जंगली बँदेल पालेको आरोपमा दुईजना पक्राउ परेका छन्। चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका– ८ का दुईजनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो।
अनुमति नलिई दुईवटा बँदेल पालेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए। उनका अनुसार वन्यजन्तु पाल्न वन्यजन्तु पालनपोषणसम्बन्धी कार्यविधिअनुसार विभागबाट अनुमति लिनुपर्नेमा अनुमति नलिई पालेको पाइएकाले पक्राउ गरिएको हो।
व्यावसायिक रूपमा वन्यजन्तु पाल्न पनि अनुमति लिनुपर्ने उनले प्रस्ट पारे। पक्राउ परेका दुवैलाई अवैध रूपमा वन्यजन्तु पालन गरेको अभियोगमा कारबाही हुने सूचना अधिकारी थापामगरले जानकारी दिए। अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरूको नाम निकुञ्जले सार्वजनिक गरेको छैन।