स्टक ब्रोकर एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालबिच मर्जरसम्बन्धी सम्झौता भएको छ।
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर्स एसोसिएसन नेपाललाई एकीकरण गरी सम्पूर्ण धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरूको बृहत्तर हितका लागि साता व्यावसायिक संघ निर्माण गर्ने उद्देश्य रहेको उनीहरूले बताएका छन्।
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको तर्फबाट निवर्तमान अध्यक्ष सन्तोष मैनालीको संयोजकत्वमा कोषाध्यक्ष मदन पौडेल र सचिव सुयोग अधिकारी सम्मिलित तीनसदस्यीय समिति र धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालको तर्फबाट महासचिव कृष्ण गिरीको संयोजकत्वमा कोषाध्यक्ष सुमनकुमार मल्ल तथा सदस्य सन्दीपविक्रम राणासहितको तीनसदस्यीय समितिबिच विभिन्न चरणमा छलफल भएको थियो।
दुई एसोसिएसन एक भएको घोषणा गर्दै दुई एसोसिएसनका अध्यक्षहरूद्वारा सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
सम्झौताअनुसार ३१ वर्षको लामो इतिहास बोकेको स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाललाई सम्पूर्ण धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरूको साझा व्यावसायिक संघको रूपमा निरन्तरता दिइनेछ।
दोस्रो पक्षको रूपमा रहेको धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालमा सदस्य रहेका सबै धितोपत्र दलाल व्यवसायीहरूलाई स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले एकमुष्ट रूपमा सदस्यता प्रदान गर्ने उल्लेख छ।
धितोपत्र ब्रोकर्स एसोसिएसन नेपाललाई संस्थागत सामाजिक उत्तरदायित्व र लगानीकर्ता शिक्षा तथा सचेतनाअन्तर्गतका कार्यक्रम सञ्चालन गर्ने अंगको रूपमा अगाडि बढाइने पनि सम्झौतामा उल्लेख छ।
दुवै एसोसिएसनमा हाल सदस्य नभएका धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी)हरूलाई स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको सदस्यता लिन आह्वान तथा सहजीकरण गरिने सम्झौतामा भनिएको छ।