सुर्खेतको वीरेन्द्रनगरमा रहेको गंगामाला देउती बज्यै मन्दिरकी मूल पुजारी मृत फेला परेकी छिन्। वीरेन्द्रनगर नगरपालिका–११ की ५१ वर्षीया सरस्वती राजी मन्दिरको मूल ढोकामा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अुनसार उनी मन्दिरको मूल ढोकाको भित्रपट्टिको फलामको हत्कडीमा झुन्डिएकोमा अवस्थामा बुधबार बिहान फेला परेकी हुन्। सरस्वतीका श्रीमान् रुद्रबहादुर राजी यसअघि मन्दिरका मूल पुजारी थिए। उनको निधन भएपछि सरस्वती पुजारी भएकी थिइन्।
मृतकको शव पोस्टमार्टमका लागि कर्णाली प्रदेश अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले बताए।
सरस्वतीको मृत्यु भएपछि देउती बज्यै मन्दिरमा हुने दैनिक पूजापाठ रोकिएको छ। देउती बज्यैको मूल पुजारी राजीहरू रहने प्रचलन रहेको छ।