बहुवर्षीय आयोजनाका रूपमा सुरु भएको हेटौँडाको मयूरधाप औद्योगिक क्षेत्रको निर्माणकार्य अलपत्र अवस्थामा छ । वन तथा वातावरण मन्त्रालयबाट वातारणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) स्वीकृत नहुँदा औद्योगिक क्षेत्रभित्र निर्माण हुनुपर्ने भौतिक पूर्वाधारका कामको सुरुवात हुन सकेको छैन ।
औद्योगिक क्षेत्र घोषणाको समयमा करिब तीन सय बिघा क्षेत्रफल रहेको उक्त औद्योगिक क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्जको जग्गा पर्ने भएपछि १४ वैशाख ०७४ मा बसेको मन्त्रिपरिषद् बैठकले औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर करिब १३४.८६ हेक्टर अर्थात् करिब दुई सय बिघामा कायम गरेको थियो । यद्यपि, त्यसपछि पनि औद्योगिक क्षेत्रको वातारणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए)को स्वीकृति प्रक्रिया अगाडि बढ्न सकेको छैन । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौँडाकी प्रमुख इन्जिनियर संगीता कुँवरले औद्योगिक क्षेत्रको इआइए स्वीकृत नहुँदा पूर्वाधार निर्माणका कार्य गर्न नसकिएको बताइन् ।
‘इआइए स्वीकृतिका लागि पठाइएको फाइल वन मन्त्रालयमै अड्किएको छ । इआइए स्वीकृत नभई भौतिक पूर्वाधार निर्माणका काम गर्न सकिँदैन । त्यसकारण काम रोकिएको हो,’ उनले भनिन्, ‘इआइए प्रतिवेदन स्वीकृत भएर आएपछि फटाफट काम अघि बढ्छ । त्यसका लागि हामी तयार छौँ ।’
यता उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भने मयूरधाम औद्योगिक क्षेत्र सञ्चालनका लागि सरकारले सहयोग र समन्वय गरिरहेको जिकिर गरेका छन् । गत असोजको पहिलो हप्ता हेटौँडा कपडा उद्योग, हेटौँडा सिमेन्ट उद्योग र मयूरधाप औद्योगिक क्षेत्रको अवलोकनपछि मयूरधाप औद्योगिक क्षेत्र देशको आर्थिक समृद्धिका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माणको काम थालनी गर्न सहज हुने गरी वन मन्त्रालयसँगको समन्वयमा सरकारले निर्णय गर्ने बताएका थिए । उनले आश्वासन दिएको पनि तीन महिना पुगेको छ ।
नौ वर्षअघि १ चैत ०७२ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले हेटौँडाको मयूरधापमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो । सोहीअनुसार १९ जेठ ०७५ मा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरी स्वीकृतसमेत भएको थियो ।
यस्तै, १४ फागुन ०७७ मा तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मयूरधाप औद्योगिक क्षेत्रको शिलान्याससमेत गरेका थिए । तर, घोषणा भएको नौ वर्ष र शिलान्यास गरिएकै पाँच वर्ष पुग्दासमेत औधोगिक क्षेत्र निर्माणको कामले गति लिन सकेको छैन । करिब दुई सय बिघा क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्र निर्माण सम्पन्न हुँदा सात अर्ब दुई करोड लगानी हुने अनुमान गरिएको थियो । ६२ वटा प्लट रहने औद्योगिक क्षेमा खुल्ने उद्योग कलकारखानामा करिब १० हजार जनशक्तिले प्रत्येक्ष रोजगारी पाउने दाबी गरिएको छ ।
क्षेत्रफलका दृष्टिकोणले देशकै ठुलो औद्योगिक क्षेत्र हेटौँडामा जग्गा अभाव हुँदै गएको र काठमाडौं र ललितपुरमा रहेका औद्योगिक क्षेत्रका उद्योगहरूलाई समेत स्थानान्तरण गर्ने गरी मयूरधाम औद्योगिक क्षेत्र निर्माणको काम थालिएको थियो । मयूरधाप औद्योगिक क्षेत्रमा रंग, दुग्ध उत्पादन, साबुन, खाद्य, प्लास्टिक, स्टिल, रबर, तार, डिस्टिलरी, पाइप, काष्ठ, कपडा, छाला, सिमेन्ट, इलेक्ट्रो मेकानिकललगायत उद्योगहरू रहने जनाइएको छ । यसैगरी, औद्योगिक क्षेत्रमा पानी प्रशोधन र फोहोरमैला व्यवस्थापन केन्द्रसमेत रहने प्रस्ताव गरिएको छ ।