मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २० मंगलबार
  • Monday, 09 December, 2024
असोज दोस्रो साता परेको अविरल वर्षाले क्षति पुर्‍याएको ग्रामीण सडक तिहारअघि खुलाउँदै महांकाल गाउँपालिकाका स्थानीय
शान्ति तामाङ काठमाडाैं
२o८१ कार्तिक २० मंगलबार o७:४५:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बाढीपहिरोपछि दक्षिण ललितपुरमा जताततै खानेपानीको समस्या

संघ सरकारले घोषणा गरेको राहत स्थानीय तहमा अझै पुगेन 

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २० मंगलबार o७:४५:oo

असोज दोस्रो साता (१०–१२ असोज) को अविरल वर्षापछि देशभरका धेरै ठाउँमा जनधनको क्षति भयो । यो विपत्बाट ललितपुरका तीन स्थानीय तहले पनि धेरै नै क्षति व्यहोर्नुपर्‍यो । बाढीपहिरो गएको एक महिना बितिसक्दा पनि दक्षिण ललितपुरका बागमती, कोन्ज्योसोम र महांकाल गाउँपालिकामा खानेपानी, विद्युत् सेवा अझै सहज बन्न सकेको छैन ।

दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको धेरै ठाउँमा खानेपानीको समस्या छ । महांकालमा खानेपानीको समस्यासँगै ५० प्रतिशत स्थानीयवासी विद्युत् सेवाबाट वञ्चित छन् । बागमती गाउँपालिकामा पनि खानेपानीसँगै एउटा टोलमा विद्युत् सेवा अवरुद्ध छ । तीनै पालिकाका केही ठाउँबाहेक राहत र उद्धारसम्बन्धी काम बन्द गरिएको छ । अस्थायी बसोवासका लागि अझै पहल हुन सकेको छैन । तिहारपछि मात्र ती पालिकाका पीडितका लागि अस्थायी बसोवासको व्यवस्था गरिने तयारी छ । बाढीपहिरोका कारण महांकाल गाउँपालिकामा १३, कोन्ज्योसोम र बागमती गाउँपालिकामा तीन–तीनजनाको ज्यान गएको थियो । तीनजना अझै बेवत्ता छन् । तीन गाउँपालिकामा एक हजारभन्दा धेरै घरमा क्षति पुगेको थियो । बाढीपहिरोकै कारण यस क्षेत्रमा पानीका मूल मुहान र जरुवामा क्षति पुगेको छन् । अधिकांश पानीका मुहान सुकेका छन् । महांकाल गाउँपालिकाको बुखेल, मानिखेल, गोटिखेल, कालेश्वर, चन्दनपुर, ठुला दुर्लुङ, कोन्ज्योसोम गाउँपालिकाको चौघर, शंखु , दलचोकी, नल्लु, भारदेउ र बागमती गाउँपालिकाअन्तर्गत घुसेल, माल्टा, भट्टेडाँडा, प्युटार, इकुडोल, आश्राङ, गिम्दीलगायत क्षेत्रमा बाढीका कारण ठुलो मात्रामा धनजनको क्षति भएको छ । 

महांकाल गाउँपालिकाका ५० प्रतिशत बासिन्दा खानेपानीसँगै विद्युत् सेवाबाट समेत वञ्चित छन् । गाउँपालिमा स्टक भएको दश हजार लिटर डिजेलले पालिकाभित्रको मूल सडक खुलाएको गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले बताए । उनका अनुसार खानेपानीको स्रोत नै नष्ट भएको छ । खानेपानी वितरणका धेरैजसो पाइपमा क्षति पुगेका कारण अस्थायी व्यवस्था गरिएको छ । गाउँपालिकाभित्र ९७ घर पूर्ण र एक सय १२ घरमा आंशिक क्षति पुगेका कारण उनीहरू विस्थापित हुने अवस्थामा पुगेको केसीले बताए । ‘अरू धेरै समस्या छन् । खानेपानी, विद्युत् र टेलिफोन नेटवर्क सहज भइसकेको छैन ।’ केसीले भने, ‘समस्याको बाबजुद पीडितका लागि अस्थायी बसोवास गर्न ठाउँ तोकेको छौँ । जंगलभित्र बस्ती बनाउन खोजेकाले संघीय सरकारले निर्णय गर्नुपर्ने भएकाले अब २६ कात्तिकमा कार्यपालिका बैठक बसेर निर्णय गर्छाै । र संघ सरकारलाई प्रस्ताव गर्छाैँ।’ गाउँपालिकाले अस्थायी बसोवासका लागि करिब एक सय रोपनी क्षेत्रफलमा फैलिएको मानिखेलस्थित टुटुवा डाँडालाई रोजेको छ । पीडितका लागि सरकारले राहत रकम दिने घोषणा गरे पनि हालसम्म राहत नपाउँदा पालिका रुष्ट बनेको छ । ‘सरकारले पालिकालाई एक करोड दिने घोषणा गरेको दुई साता पुगे पनि अहिलेसम्म पालिकाको खातामा पैसा आएको छैन । चाहिएको वेला दिन नपाएको राहतको के काम ?’ उनले प्रश्न गरे । 

१ कात्तिकमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढीपहिरोबाट प्रभावित ७१ स्थानीय तहलाई राहत रकम निकासा गर्ने निर्णय गरेको थियो । क्षतिका आधारमा अति प्रभावित, प्रभावित र सामान्य प्रभावित गरी तीन भागका वर्गीकरण गरेर राहत रकमस्वरूप पालिकालाई ५० लाखदेखि १ करोड रुपैयाँसम्म उपलब्ध गराउने निर्णय गरिएको भयो । सोअनुसार दक्षिण ललितपुरका तीनवटै स्थानीय तहले एक करोड रुपैयाँ पाउने भएका थियो । 

कोन्ज्योसोम गाउँपालिकामा पनि बाढीपहिरोले खानेपानीको मुहान र पाइप नष्ट गरेको छ । गाउँपालिकाका केही स्थानमा अस्थायी खानेपानीका व्यवस्था भए पनि कतिपय ठाउँमा खानेपानीको अभाव छ । सबै ठाउँमा अस्थायी खानेपानीको व्यवस्था गर्न अझै १५ दिन लाग्ने गाउँपालिकाले जनाएको छ । 

गाउँपालिका अध्यक्ष कृष्णमान लामाका अनुसार स्थायी बसोवासका लागि संघीय सरकारले पहल नगरेसम्म आधार नभएको र अस्थायी बसोवासका लागि विभिन्न विकल्प खोज्ने काम भइरहेको छ । ‘आफ्नै सुरक्षित घडेरी बाँकी रहेका पीडितलाई सोही ठाउँमा अस्थायी बसोवास गर्न भन्छौँ । घडेरी नभएका पीडितको हकमा सार्वजनिक पर्ति जग्गा व्यवस्था गर्न पहल गर्छाैँ,’ लामाले भने, ‘अस्थायी टहरा बनाउन ५० हजार रुपैयाँ पालिकाले दिने व्यवस्था पनि गरेका छौँ ।’ पालिकाभित्र एक सय ५७ घर पूर्ण क्षति भएको र चार सय ६९ घरमा आंशिक क्षति पुगेको छ । जाडो मौसम सुरु भएकाले जाडोमा न्यान्यो कपडा, खानालगायतको व्यवस्था गर्न गाउँपालिकाले विभिन्न निकायसँग समन्वय गरिरहेको उनले बताए । उनले पनि संघीय सरकारले घोषणा गरेको राहत घोषणामै सीमित भएको आरोप लगाए । 

बागमतीमा क्षतिको पूर्ण विवरण अझै अनिश्चित 
गाउँपालिकामा देखिएको खानेपानी समस्या समाधान गर्न पालिकाभित्रका सातै वडाका लागि तीन–तीन लाखका दरले बजेट विनियोजन भएको छ । १–२ दिनमै पाइप खरिद गरेर तिहारपछि खानेपानीको अस्थायी समाधान गरिने अध्यक्ष वीरबहादुर लोप्चनले बताए । उनका अनुसार बागमतीमा पूर्ण क्षति र आंशिक क्षति पुगेका घरको प्रारम्भिक विवरण मात्र आएकाले अस्थायी बसोवासलगायतका काम गर्न केही समय लाग्नेछ । ‘अहिले हामीले पालिकाभित्र राहत वितरण गरिरहेका छौँ । पीडितलाई अस्थायी बसोवासको व्यवस्था गर्नका लागि क्षति पुगेका घरको तथ्यांक भेरिफाई भइरहेको छ,’ उनले भने । पालिकाले गरेको प्रारम्भिक अनुमानअनुसार पालिकाभित्र ४१ घर पूर्ण र एक सय घरमा आंशिक क्षति पुगेको छ । तिहारपछि अस्थायी बसोवासका लागि पहल गर्ने भए पनि संघीय सरकारको निर्णयपछि मात्र अगाडि बढ्ने उनले बताए । बागमतीले पनि सरकारले घोषणा गरेको राहत रकम पाउन सकेको छैन ।