
थाई एयर एसियाले क्यानको अनुमति नै नलिई नेपालमा उडान भरेपछि उसको नेपालस्थित जिएसए युनिभर्सल टुर्स एन्ड ट्राभल्स निलम्बनमा छ, तर निलम्बनको अवधिभर जिएसएले सम्बन्धित कुनै गतिविधि गर्न नपाउने कानुनी व्यवस्था भए पनि युनिभर्सलले मिलेमतोमा अन्य एयरलाइन्स कम्पनीहरूको जिएसएको काम निर्वाध गर्यो
थाई एयर एसियाको विमान विनाअनुमति डेढ सय यात्रु बोकेर गत आइतबार (११ कात्तिक) नेपालमा अनधिकृत प्रवेश गरेपछि निलम्बनमा परेको उसको नेपालस्थित जनरल सेल्स एजेन्ट (जिएसए) ‘युनिभर्सल टुर्स एन्ड ट्राभल्स’ले कानुनविपरीत अन्य एयरलाइन्स कम्पनीहरूको जिएसएको काम निर्वाध गरिरहेको छ । ‘निलम्बन अवधिभर जिएसएलाई सम्बन्धित कुनै गतिविधि गर्न अनुमति दिइनेछैन’ जनरल सेल्स एजेन्ट अनुमति र नियमनसम्बन्धी कार्यविधि, २०७७ को नियम १५ मा स्पष्ट व्यवस्था छ । तर, निलम्बनपछि पनि युनिभर्सलले अन्य तीन वायुसेवा कम्पनी कोरियन, फ्लाई दुबई र इमिरेट्सको जिएसएको टिकट बिक्री निरन्तर गरेको हो ।
ज्ञानेन्द्र भुल, सहप्रवक्ता, नागरिक उड्डयन प्राधिकरण (क्यान)
अरू वायुसेवाले गल्ती गरेका होइनन्, गल्ती गर्ने थाई एयर एसिया हो, थाई एयर एसियाकै लोकल एजेन्टका रूपमा काम गर्न नपाउने गरी युनिभर्सलको जिएसए इजाजत निलम्बन गरिएको हो । कुन प्रकारको गल्तीमा कस्तो निर्णय लिने, कस्तो कारबाही गर्ने भनेर महानिर्देशकले विवेक प्रयोग गरेर निर्णय गर्ने हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मिलेमतोमै युनिभर्सललाई निलम्बनका वेला पनि अन्य एयर कम्पनीको जिएसएको भूमिकामा काम गर्न दिएको शृंखलाबद्ध गतिविधिले देखाउँछ । अनुमतिविना आएको जहाजलाई ल्यान्डिङ अनुमति दिनु, निलम्बनपछि विमानलाई ‘विशेष चार्टर्ड उडान’को नाम दिएर यात्रुसहित फर्किन दिनु, भैरहवा–बैंकक–भैरहवा साताको दुई उडान भर्ने सर्तमा निलम्बन तीन दिनमै बुधबार हठात फुकुवा गर्नुजस्ता गतिविधिले मिलेमतोलाई स्पष्ट संकेत गर्छ ।
यसअघि भैरहवामा उडान गर्ने प्रतिबद्धता जनाएर पनि कार्यान्वयन नगरेपछि क्यानले थाई एयर एसियालाई गत आइतबारदेखि लागू ‘विन्टर सिजन’को काडमाडौं–बैंकक–काठमाडौं उडान अनुमति दिएको थिएन । शनिबार ‘समर सिजन’को सेड्युल अन्त्य भएर ‘विन्टर सिजन’को सेड्युल सुरु भए पनि सूचीमा नसमेटिएको थाई एयर एसिया अनुमतिविना नै यात्रुसहित नेपाल प्रवेश गरेको थियो । निलम्बन फुकुवापछि उसले विगतजस्तै काठमाडौं–बैंकक–काठमाडौं सातामा चार र १८ कात्तिकपछि भैरहवा–बैंकक–भैरहवा सातामा दुई उडान भर्ने भएको छ ।
स्रोतका अनुसार क्यान महानिर्देशकले जिएसए युनिभर्सलको प्रभावमा परेर अनधिकृत कार्य गर्न दिएका हुन् । कुनै पनि कम्पनी जतिसुकै वायुसेवाको एजेन्ट भए पनि जिएसए इजाजत एउटै हुने गर्छ । सोही इजाजतमा एक, दुई, तीन गरी वायुसेवा कम्पनीहरूको नाम उल्लेख हुन्छ । यसअनुसार एउटा वायुसेवाको जिएसए इजाजत निलम्बन हुँदा अन्य सबैको इजाजत स्वतः निलम्बन हुनुपर्ने हो । तर, क्यान सहप्रवक्ता ज्ञानेन्द्र भुलले थाई एयर एसियाको हकमा मात्रै कारबाही लागू भएको तर्क गरे । ‘अरू वायुसेवाले गल्ती गरेका होइनन्, गल्ती गर्ने थाई एयर एसिया हो, थाई एयर एसियाकै लोकल एजेन्टका रूपमा काम गर्न नपाउने गरी युनिभर्सलको जिएसए इजाजत निलम्बन गरिएको हो,’ उनले भने, ‘कुन प्रकारको गल्तीमा कस्तो निर्णय लिने, कस्तो कारबाही गर्ने भनेर महानिर्देशकले विवेक प्रयोग गरेर निर्णय गर्ने हो ।’
तर, महानिर्देशकले विवेक प्रयोग गरेर युनिभर्सललाई अन्य वायुसेवा कम्पनीको जिएसएको भूमिका निरन्तर गर्न दिएको बताएका भुलले यसबारे स्पष्ट व्यवस्था भने नभएको बताए । ‘जिएसए इजाजत निलम्बन भएपछि सम्बन्धित एयरलाइन्सको मात्र काम गर्न नपाउने हो कि अरू कुनै पनि वायुसेवाको काम गर्न नपाउने हो भन्ने स्पष्ट उल्लेख नहुँदा कन्फ्युजन छ । मुख्य गल्ती थाई एयर एसियाको भएकाले लोकल एजेन्टलाई सेकेन्डरी रूपमा कारबाही गरिएको हो,’ सहप्रवक्ता भुलले भने ।
प्राधिकरणको जिएसए अनुमति र नियमनसम्बन्धी कार्यविधि २०७७ को नियम १६ मा कार्यविधिको व्याख्या र अवरोध हटाउने अधिकारको व्यवस्थाबारे उल्लेख छ । जसमा ‘यस कार्यविधिको कार्यान्वयन प्रक्रियामा कुनै प्रकारको अस्पष्टता उत्पन्न भएमा महानिर्देशकलाई त्यसको व्याख्या गर्ने अधिकार हुनेछ र सो व्याख्यालाई सबै सम्बन्धित व्यक्तिहरूले पालना गर्नुपर्नेछ’ उल्लेख छ । प्राधिकरण ऐन, २०५३ को दफा २० मा महानिर्देशकको काम, कर्तव्य र अधिकारबारे व्यवस्था गरिएको छ । जसको (ट) बुँदामा ‘सञ्चालक समितिबाट प्रत्यायोजन गरिएका अधिकार तथा दिइएका निर्देशनबमोजिम कार्यहरू गर्ने’ उल्लेख छ ।
संवेदनशील मानिने नागरिक उड्डयन क्षेत्रमा फटाफट निर्णय लिनुपर्ने हुनाले पनि महानिर्देशकलाई निर्णय प्रक्रियामा धेरै अधिकार दिइएको पूर्वमहानिर्देशकहरू बताउँछन् । तर, यही अधिकारलाई दुरुपयोग गरी महानिर्देशकले युनिभर्सललाई अनधिकृत काम गर्दा पनि ‘विशेषाधिकार’ दिएको आशंका गरिएको छ । ‘प्राधिकरण बोर्ड वा महानिर्देशकले सम्बन्धित वायुसेवाको मात्र जिएसए इजाजत निलम्बन गर्न पनि सक्छ, कुनै पनि वायुसेवाको जिएसएको काम गर्न नपाउने गरी निर्णय गर्न पनि सक्छ, यसमा महानिर्देशकलाई स्वविवेक प्रयोग गर्न पाउने अधिकार हुन्छ,’ एक पूर्वमहानिर्देशकले भने ।
मिलेमतोका प्रशस्त आधार
क्यानले गत आइतबारदेखि ‘विन्टर सेड्युल’ लागू गरेको थियो । तर, त्यसमा अनुमति नै नलिई थाई एयर एसियाले नेपालका लागि उडान गर्यो । माथिल्लो तहमा मिलेमतो नभई कुनै पनि वायुसेवाले यो हदको आँट गर्न नसक्ने विज्ञहरू बताउँछन् । थाई एयर एसियाको जिएसए कम्पनी युनिभर्सल टुर्स एन्ड ट्राभल्सका सञ्चालक परासर प्रसाईं अनुमति नभए पनि जहाजलाई सहजै अवतरण गराउन सक्नेमा ढुक्क थिए । यसैले उनले बिहान फस्र्ट अपरेसन आवरसम्म अनुमति पाइसक्ने भन्दै थाई एयर एसियालाई विश्वस्त तुल्याउँदै उडान गर्न सुझाएका थिए । कारबाहीमा परेपछि थाई एयर एसियाले पत्र पठाउँदै भनेको छ, ‘हाम्रो अधिकृत एजेन्ट युनिभर्सल टुर्सले बैंकक–काठमाडौं–बैंकक विन्टर सेड्युल २७ अक्टोबर २०२४ को फस्र्ट अपरेसन आवरमा उपलब्ध हुने जानकारी दिएको थियो, तसर्थ हामीले सोही तालिकाअनुसार उडान सञ्चालन आरम्भ गरेका थियौँ ।’ यात्रु बोकेर आइसकेको जहाज मानवीयताका आधारमा पनि अवतरण अनुमति दिनु जायज थियो । तर, अवतरणपछि उडान निलम्बन गरेको वायुसेवालाई क्यानले फेरि भरिभराउ यात्रु राखेर उडान गर्न दियो, चार्टर्ड उडानमार्फत । कारबाहीमा परिसकेको वायुसेवालाई यात्रु बोकेर फर्किन दिइनुमा मिलेमतोले नै काम गरेको स्रोतको भनाइ छ । यद्यपि, थाई एयर एसियाले माफी मागेपछि जहाज फिर्ता लैजान दिइएको क्यानको भनाइ छ । नियमित उडान र जिएसए इजाजत निलम्बन गरेपछि क्यानलाई पत्र पठाएरै माफी मागेको थियो । वायुसेवा कम्पनी र ट्राभल कम्पनीको बदमासीका कारण यात्रुले टिकट काटेर विमानस्थलमा आइसकेको अवस्थामा मानवीयताको आधारमा महानिर्देशकले स्वविवेक प्रयोग गरी उडान अनुमति दिन सक्ने पूर्वमहानिर्देशकहरूको भनाइ छ ।
निलम्बन गरेको तीन दिनमै पहुँचका आधारमा फुकुवाको निर्णय : गम्भीर लापरबाही गरेको नेपाल एजेन्ट युनिभर्सललाई सजग मात्रै गराइने
पहुँचका आधारमा थाई एयर एसियाको निलम्बन तीन दिनमै फुकुवा भएको छ । यद्यपि, भैरहवामा उडान गर्न तयार भएपछि निलम्बन फुकुवा गर्ने निर्णय गरिएको क्यानको भनाइ छ । थाई एयर एसियाको नेपाल एजेन्ट युनिभर्सल टुर्स एन्ड ट्राभल्सलाई सजग मात्रै गराउने निर्णय भएको छ । क्यान प्रवक्ता हंसराज पाण्डेले भने, ‘१८ कात्तिकदेखि भैरहवामा उडान भर्ने र काठमाडौंमा पनि उडान निरन्तरता दिने गरी थाई एयर एसियाको निलम्बन फुकुवा हुने भएको छ । जिएसए युनिभर्सल टुर्स एन्ड ट्राभल्सलाई भने आइन्दा यस्तो गल्ती नदोहोर्याउने र भैरहवा उडान सुनिश्चित गर्न प्रतिबद्ध गराउँदै सजग गराइने तयारी भएको छ ।’ तर, हवाई सेवाजस्तो संवेदनशील क्षेत्रमा गरिएको बलजफ्तीमा सामान्य सचेत मात्रै गराउने कार्यले मिलेमतो पुष्टि हुने जानकारहरूको भनाइ छ । अनुमतिविना नै थाई एयर एसिया गत ११ कात्तिकमा नेपाली आकाशमा प्रवेश गरेको थियो । उसको नेपाल एजेन्ट युनिभर्सल र क्यानको मिलेमतोमा जहाजलाई अवतरण गर्न मात्रै दिइएन, यात्रुसहित त्यही साँझ फिर्ता पनि पठाइएको थियो ।
थाई एयर एसियाका यात्रु बोकेर निगमको जहाज आज थाइल्यान्ड उड्दैै
कारबाहीमा परेको थाई एयर एसियाका अग्रिम टिकट काटेका यात्रुहरू बोकेर नेपाल वायुसेवा निगम (नेवानि)को जहाज बिहीबार थाईल्यान्ड जाने भएको छ । युनिभर्सल टुर्स एन्ड ट्राभल्सले टिकेट काटिसकेका यात्रुहरूलाई गन्तव्यमा पुर्याउन बिहीबार र शुक्रबारका लागि नेवानिको न्यारोबडी जहाज चार्टर्ड गरेको हो ।
नेवानिले बिहान ११ बजे काठमाडौंबाट बैंककतर्फ उड्ने र साँझ ६:२५ बजे काठमाडौंमा अवतरण गर्ने गरी चार्टर्ड उडान अनुमति लिएको छ । बिहीबार काठमाडौंबाट बैंकक जाने र बैंककबाट काठमाडौं आउने यात्रुहरू समान डेढ/डेढ सयको संख्यामा रहेको युनिभर्सल टुर्सले निगमलाई जानकारी गराएको छ । शुक्रबार पनि सोही समयमा उडान हुने बताइएको छ ।