नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोेजक डा. बाबुराम भट्टराईले लामो संघर्ष र बलिदानको उपलब्धिका रूपमा प्राप्त नेपालको संविधानको संरक्षण र लोकतन्त्रको सुदृढीकरणका लागि परिवर्तनकारी शक्तिबिच साझा धारणा र एउटै बुझाइ आवश्यक रहेको बताएका छन् । शनिबार पत्रकार भेटघाट कार्यक्रममा उनले संघीयता र गणतन्त्रसहितको उपलब्धिलाई संरक्षण र संवद्र्धन गर्दै लैजानुपर्ने आजको आवश्यकता भएको बताएका हुन् ।
‘मुलुकमा राजनीतिक परिवर्तनका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा दुःख, कष्ट भोगेका राजनीतिक नेतृत्वले जनताका एजेन्डाका आधारमा विकास र समृद्धिमा फड्को मार्न नसक्दा नयाँ शक्तिको उदय भयो, तर उनीहरू पनि व्यवस्थित हुन सकिरहेको देखिन्न,’ भट्टराईले भने ।
लोकतन्त्रका लागि योगदान पुर्याएका पुराना शक्तिलाई सुधार्ने तथा नयाँ शक्तिलाई व्यवस्थित तुल्याएर आमसहमतिका आधारमा अघि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
लोकतान्त्रिक गणतन्त्रभित्रै नयाँ शक्ति निर्माण गर्न सकिने बताउँदै भट्टराईले भने, ‘वैकल्पिक नयाँ शक्ति अग्रगामी सोचसहितको हुनुपर्छ, पुराना वादबाट अब मुलुक चल्दैन । संघीयतालाई पनि परिष्कृत गर्दे लैजानुपर्छ ।’ केही दिनअघि विधान अधिवेशन सम्पन्न गरेको नेसपा (नयाँ शक्ति)ले आगामी २५ देखि २७ माघसम्म काठमाडौंमा राष्ट्रिय अधिवेशन गर्दै छ ।