१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २४ बिहीबार
  • Tuesday, 12 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज २४ बिहीबार o६:१९:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आज फूलपाती, टीकाको उत्तम साइत शनिबार बिहान ११: ३६ मा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज २४ बिहीबार o६:१९:oo

आज फूलपाती । यो दिन सर्वसाधारणले घर–घरमा हर्षबढाइँका साथ नवपत्रिका भित्र्याउँछन् । प्राचीन कालदेखि नै दरबार, कोट र घर–घरमा फूलपाती भित्र्याउने परम्परा छ । आधुनिक नेपाल निर्माणपछि गोरखाबाट फूलपाती ल्याएर हनुमानढोकामा भित्र्याउने चलन अझै कायम छ । 

ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले भने, ‘फूलपातीका दिन बिहान देवीको नित्य पूजा गरिसकेपछि मध्याह्न आफ्नो विधिअनुसार फेरि पनि पूजा हुन्छ । त्यसपछि जमरा राखिएको ठाउँ अर्थात् भगवती स्थापना गरिएको स्थानमा पूजा गरेर विधिवत् रूपमा नवपत्रिका भित्र्याइन्छ । धान, बेसार, हरिद्रा, अशोक, पातीलगायत नौवटा वनस्पति भिœयाएर देवी पूजा गरिन्छ ।’

 अष्टमी र नवमी एकै दिन
यसपटक अष्टमी र नवमी एकै दिन अर्थात् शुक्रबार परेको छ । त्यसैले एकै दिन दुई देवीको पूजा हुन्छ । ‘महाअष्टमी तथा महानवमी एकै दिन परेकाले कसरी पूजा गर्ने भन्नेमा कतिपयलाई व्यावहारिक कठिनाइ पनि परेको देखिन्छ । आ–आफ्नो चलनअनुसार पूजा गर्न सकिन्छ,’ अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिका सभापति डा. माधव भट्टराईले भने । 

महाअष्टमीको रात शक्तिपीठहरूमा कालरात्रिको विशेष पूजा हुन्छ । त्यस्तै, महानवमीमा सिद्धिधात्री देवीको पूजा हुन्छ । ‘हामीले गरेका सम्पूर्ण कर्मलाई सिद्धि दिने काम देवीले गर्ने भएकाले उहाँको उपासना गर्ने गरिन्छ,’ रिजालले भने । 

 विजयादशमीमा टीकाअघि के गरिन्छ ? 
नेपाल पञ्चांग निर्णायक समिति र अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले देवी विसर्जन तथा दसैँको टीकाको साइत सार्वजनिक गर्दै आएका छन् । नेपालको समयअनुसार देवी विसर्जनको साइत शनिबार (२६ असोज) बिहान ८:३३ मा तथा टीकाको उत्तम साइत सोही दिन बिहान ११ :३६ मा छ । 

घटस्थापनामा स्थापना गरेर नौ दिनसम्म पूजा गरेको कलशलाई विसर्जन गर्नु नै देवी विसर्जन हो । ‘यसको अर्थ देवीलाई विधिवत् विसर्जन गर्ने र अर्को वर्ष पुनः आह्वान गर्छौँ भनेर प्रतिबद्धता व्यक्त गर्ने हो । यसपछि टीका लगाइन्छ,’ रिजालले भने, ‘उत्तम साइत ११:३६ मा भए पनि देवी विसर्जन गरिसकेपछि जुनसुकै समयमा टीका लगाउन मिल्छ ।’

 टीका लगाउँदा कता फर्कने ?
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालका अनुसार टीका लगाइदिने व्यक्ति पश्चिम र टीका लगाउने व्यक्ति पूर्व फर्किनुपर्छ । टीका लगाइदिने व्यक्तिले देवी विसर्जन गर्दाको कलशको जलले टीका लगाउनेलाई अभिषेक गरेर साइतमा टीका र जमरा लगाउनुपर्ने उनले बताए ।

कुन देशमा कति बजे छ साइत ?
अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले टीकाको साइत कुन देशमा कति बजे छ भनेर पनि जानकारी दिएको छ । अधिकांश देशमा १२ अक्टोबर र केहीमा १३ अक्टोबरमा दसैँ पर्छ । १२ अक्टोबरमा भारतमा ११:४२ तथा अमेरिकाको न्युयोर्कमा  १०:०१ र वासिङ्टन डिसीमा ९:५५ बजेट टीकाको साइत छ । त्यस्तै, पोर्चुगलको लिस्बनमा १०:२४, बेलायतको लन्डनमा १०:२१, फ्रान्सको पेरिसमा १०:२३ र नर्वेको ओस्लोमा १०ः१९ बजे टीकाको साइत छ ।

सोही दिन स्विट्जरल्यान्डको जेनेभामा ११:५५, माल्टामा १०:४५, साउदी अरेबियामा ११:२३, सिंगापुरमा ११:४५, इजरायलको तेल अभिभमा ९ः१६, मलेसियाको क्वालालम्पुरमा ११:५७ र युएईको अबुधाबीमा ११:४५ बजेको साइत छ । १२ अक्टोबरमै कतारको दोहामा ११:०५, थाइल्यान्डको बैंककमा ११:२१ र म्यान्मारको यांगुनमा ११:२१ बजे साइत तोकिएको छ ।

१३ अक्टोबरमा भने जापानको टोकियोमा ११:३५, अस्ट्रेलियाको सिड्नीमा ११ः२१ र मेलबर्नमा ११:२७, हङकङमा ११:४३ बजे र दक्षिण कोरियाको सिओलमा ९:१५ बजे टीकाको उत्तम साइत रहेको अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले जनाएको छ ।